काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको चुनावी समीक्षा तथा पुनर्गठनसम्बन्धी कार्यदलको प्रतिवेदनका विषय आफूले तयार गरेको राजनीतिक दस्तावेजमा समेटिएको बताएका छन्।
ललितपुरको भैंसीपाटीस्थित रामवाग पार्टी प्यालेसमा सुरु भएको एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकलाई सम्बोधन गर्दै ओलीले कार्यदलको प्रतिवेदन ढिलो प्राप्त भएकाले त्यसलाई छुट्टै रूपमा छलफलमा लैजान समय अभाव भएको बताए।
‘पुनर्गठन कार्यदलको प्रतिवेदन पार्टीको सम्पत्ति भइसकेको छ। त्यसलाई सम्पत्तिका रूपमा राख्ने निर्णय भएको छ,’ ओलीले भने, ‘त्यसलाई समेत ध्यानमा राखेर अध्यक्षको दस्तावेज प्रतिवेदन तयार भयो।’
एमालेले पार्टी पुनर्गठन र निर्वाचन समीक्षाका लागि उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा कार्यदल गठन गरेको थियो। कार्यदलमा महासचिव शंकर पोखरेलले समेत छुट्टै प्रतिवेदन तयार गरेका थिए। बादलको प्रतिवेदनमा अध्यक्ष ओलीको नेतृत्वलाई निरन्तरता दिने धारणा रहेको थियो भने पोखरेलको प्रतिवेदनमा नेतृत्व परिवर्तनको विषय उठाइएको थियो।
पछि दुवै प्रतिवेदनलाई समेटेर नेता प्रदीप ज्ञवालीले अर्को प्रतिवेदन तयार गरेका थिए। उक्त प्रतिवेदनमा नेतृत्व परिवर्तनको विषय नराखिएको र तल्लो तहबाट आएका सुझावलाई अनुसूचीमा समेट्ने सहमति भएको बताइएको थियो।
तर, अध्यक्ष ओलीले कार्यदलको प्रतिवेदनलाई छुट्टै राजनीतिक दस्तावेजका रूपमा केन्द्रीय कमिटीमा प्रस्तुत नगरी त्यसका विषयलाई आफ्नो प्रतिवेदनमा समेटिएको बताएका छन्।
अध्यक्ष ओलीले पार्टी नेतृत्वमा ‘हस्तान्तरण’ र ‘पुस्तान्तरण’को विषय उठाइए पनि त्यसको स्पष्ट अर्थबारे प्रश्न गरेका छन्। ‘हस्तान्तरण, पुस्तान्तरण भनेको के हो?’ उनले प्रश्न गरे।
ओलीले पार्टीलाई नयाँ गति र जीवन दिने उद्देश्यले कार्यदल गठन गरिएको भए पनि कार्यदल गठन र त्यसको काममा भएको ढिलाइले पार्टीका बैठकसमेत प्रभावित भएको बताए।
‘पार्टीलाई नयाँ गति, नयाँ जीवन कसरी दिन सकिन्छ भन्ने कुरामा एउटा कार्यदल बन्यो। हामी कार्यदल बनाउनतिर लाग्यौँ। त्यो कति उपयुक्त गर्यौँ, गरेनौँ अहिले धेरै समीक्षातिर नजाऔँ,’ उनले भने।
कार्यदललाई दुई महिनाको समय दिइए पनि चार महिना लागेको भन्दै ओलीले असन्तुष्टि व्यक्त गरे। कार्यदलको प्रतिवेदन नआउँदा सचिवालय र केन्द्रीय कमिटी बैठक बस्नसमेत ढिलाइ भएको उनको भनाइ थियो।
‘दुई महिनाको समय भनेको चार महिनाको समय गुज्रियो। तर केन्द्रीय कमिटी त झन्डै–झन्डै बस्नै नसक्ने स्थिति बन्यो,’ ओलीले भने।
कार्यदलको प्रतिवेदन सचिवालयले आफ्नो ‘प्रोपर्टी’का रूपमा राखेको र त्यसैलाई समेत आधार बनाएर आफ्नो राजनीतिक प्रतिवेदन तयार गरिएको उनले बताए।
‘सचिवालयले बुझ्यो र त्यसलाई आफ्नो प्रोपर्टीका रूपमा राख्यो। त्यसलाई समेत ध्यानमा राखेर अध्यक्षको प्रतिवेदन तयार भयो,’ ओलीले भने।
उनले समयको चापका कारण बैठकको तयारीसमेत छोटो समयमा गर्नुपरेको बताए। केन्द्रीय कमिटी बैठक सुरु हुनुअघि सोमबार बिहानसम्म सचिवालय बैठक बसेको जानकारी दिँदै ओलीले कार्यदलको प्रतिवेदन र त्यसपछिको तयारीका कारण बैठक बस्न ढिलाइ भएको प्रस्ट पारे।




















