काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले आगामी हिउँदमा विद्युत् आपूर्ति सहज बनाउन आवश्यक तयारी र गृहकार्य भइरहेको बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री श्रेष्ठले रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण विद्युत् पूर्वाधारमा क्षति पुगेपछि करिब १० प्रतिशत विद्युत् प्रणालीबाट बाहिर गएको र राष्ट्रिय प्रसारण लाइनमा चाप परेको बताए।
विद्युत् प्रणालीमा चाप बढे पनि नेपाल विद्युत् प्राधिकरणले राष्ट्रिय प्रसारण लाइनमा सन्तुलन कायम गरिरहेको उनको भनाइ छ। आगामी हिउँदमा विद्युत् आपूर्तिमा समस्या नआओस् भनेर प्रसारण लाइनको अवस्था र सम्भावित जोखिमका विषयमा प्राविधिक तयारी भइरहेको उनले बताए।
‘अब जोडिने प्रसारण लाइन कस्तो छ, अन्य ठाउँमा पनि सम्भावित जोखिम कहाँ–कहाँ छ र त्यसलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा छलफल भइरहेको छ,’ मन्त्री श्रेष्ठले भने, ‘जाडो महिनामा पनि अहिले जस्तै विद्युत् आपूर्तिलाई सन्तुलित राख्न हामीले गृहकार्य गरिरहेका छौँ।’
बाढीका कारण केही प्रसारण संरचना प्रणालीबाट बाहिर रहेकाले आगामी दिनमा आपूर्तिमा असहजता आउन सक्ने सम्भावनालाई ध्यानमा राखेर आवश्यक तयारी भइरहेको उनले बताए।
मन्त्री श्रेष्ठका अनुसार हिउँदमा विद्युत्को माग बढ्ने भएकाले विशेषगरी दुई महिनामा प्रणाली व्यवस्थापनका लागि थप तयारी आवश्यक हुन्छ।
‘जाडो महिनामा विद्युत्को माग धेरै हुन्छ। खासगरी दुई महिनामा त्यो बढी हुने भएकाले त्यसअनुसारको तयारी भइरहेको छ,’ उनले भने।
मन्त्री श्रेष्ठले नुवाकोटमा बाढीबाट प्रभावित विद्युत् सेवा २४ घण्टाभित्र पुनः सञ्चालन गरिएको तथा रसुवामा पनि हालै विद्युतीकरणको काम अघि बढाइएको जानकारी दिए।
अब आउने सुख्खायाममा विद्युत् आपूर्ति कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा प्राविधिक रूपमा आवश्यक तयारी भइरहेको पनि उनले बताए।




















