काठमाडाैं । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार उत्तर अन्डमान सागर तथा आसपासको क्षेत्रमा न्यून चापीय प्रणाली बनेको छ । उक्त प्रणाली आगामी दिनमा थप विकसित हुँदै पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने सम्भावना रहेको छ ।
हाल देशका विभिन्न भूभागमा मौसम बदली भएको छ। कोशी र बागमती प्रदेशका सबै भूभागका साथै गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा बादल लागेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा सामान्यतया बदली रहेको छ भने मधेस प्रदेशमा आंशिक बदली भएको छ ।
देशका बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहेको छ। कोशी र बागमती प्रदेशका थोरै स्थान तथा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार सोमबार देशका हिमाली तथा पहाडी भूभाग, मधेस प्रदेश तथा बागमती र गण्डकी प्रदेशका तराई भूभागमा सामान्यतया बदली रहनेछ। कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा भने आंशिक बदली रहने सम्भावना छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुनसक्ने महाशाखाले जनाएको छ ।
मधेस प्रदेशका साथै कोशी र बागमती प्रदेशका तराई भूभागका थोरै स्थानमा पनि वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ ।
विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।




















