काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोटेकोसी बाढीपछि जारी खोज, उद्धार, राहत तथा पुनर्स्थापनाको कामलाई थप प्रभावकारी बनाउन सरकारलाई आग्रह गरेको छ।
आइतबार चःमतिस्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले विपद्पछिको राहत र पुनर्स्थापनामा कुनै कसर बाँकी नराख्न सरकारलाई आग्रह गरेको प्रवक्ता जगदीश खरेलले जानकारी दिए।
बैठकमा सरकारका प्रतिनिधिले बाढीपछिको खोज, उद्धार तथा राहतको अवस्थाबारे जानकारी गराएका थिए। उद्धार र राहतको काम जारी रहेको तथा पुनर्निर्माण र पुनर्स्थापनाका काम पनि सँगसँगै अघि बढिरहेको जानकारी बैठकमा दिइएको खरेलले बताए।
बैठकले पहिचान हुन नसकेका शवको डीएनए परीक्षण शीघ्र गरी पीडित परिवारलाई राहत उपलब्ध गराउनुपर्नेमा जोड दिएको छ। साथै अझै सम्पर्कविहीन नागरिकको अवस्था तत्काल यकिन गर्न र कानुनी अवरोध भए आवश्यक व्यवस्था गरी परिवारको सहमतिमा सहजीकरण गर्न सरकारलाई आग्रह गरिएको छ।
यसैबीच, भोटेकोसी बाढीपछि स्थगित गरिएका रास्वपाका पार्टीगत गतिविधि आइतबारदेखि पुनः सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको प्रवक्ता खरेलले जानकारी दिए।




















