जनकपुरधाम । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले मधेसलाई जात, धर्म, भूगोल वा राजनीतिको नाममा विभाजन गरेर द्वन्द्वको मैदान बन्न दिन नहुने बताएका छन्।
आइतबार जनकपुरधाममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले अबको राजनीति सामाजिक एकता र आर्थिक समृद्धिमा केन्द्रित हुनुपर्ने बताए। मधेस र कोशी प्रदेशलाई द्वन्द्वको मैदान बनाउने प्रयास भइरहेको दाबी गर्दै उनले त्यसबाट मुलुकलाई जोगाउनुपर्ने बताए।
सिंहले छठपछि झापाको भद्रपुरबाट मेची–महाकाली पैदल यात्रा गर्ने घोषणा गरेका छन्। यात्राका क्रममा जनतासँग प्रत्यक्ष संवाद गर्दै युवाको विदेश पलायन, किसान, मजदुर, व्यापारी तथा सीमावर्ती क्षेत्रका समस्याबारे जानकारी लिने उनले बताए।
उनले मधेस विकासका लागि शिक्षा, स्वास्थ्य, सडक, सिँचाइ, शान्ति–सुरक्षा र सरसफाइलाई ‘६ स’ का रूपमा प्राथमिकतामा राख्नुपर्ने बताए।
मधेसको समस्याका लागि काठमाडौंलाई मात्र दोष दिन नहुने भन्दै उनले मधेसका राजनीतिक नेतृत्व र स्थानीय तहले पनि विगतका कमजोरीको समीक्षा गर्नुपर्ने धारणा राखे।




















