काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज दिउँसो ३ बजेका लागि सारिएको छ।
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक लम्बिएपछि यसअघि दिउँसो १ बजेका लागि तय गरिएको सचिवालय बैठक दुई घण्टा पछि सारिएको हो।
एमालेको पुनर्गठन कार्यदलको बैठक केहीबेरअघि सम्पन्न भएको छ। कार्यदलले पार्टी पुनर्गठनसम्बन्धी साझा प्रतिवेदन पारित गरेको जनाएको छ।
एमाले सचिव पद्मा अर्यालका अनुसार कार्यदलले विभिन्न विषयलाई समेटेर साझा प्रतिवेदन तयार गरी पारित गरेको हो। उक्त प्रतिवेदन आज दिउँसो ३ बजे बस्ने सचिवालय बैठकमा पेस गरिनेछ।
‘हाम्रो कार्यदलले सबै चिजहरूलाई मिलाएर साझा प्रतिवेदन पास गरेको छ,’ अर्यालले सञ्चारकर्मीसँग भनिन्, ‘दिउँसो ३ बजे बस्ने सचिवालय बैठकमा पेस हुनेछ।’
सचिवालय बैठकले कार्यदलको प्रतिवेदनसहित निर्वाचन समीक्षा तथा आगामी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत हुने विषयमा छलफल गर्ने तयारी छ।




















