काठमाडौँ । राजनीतिक विश्लेषक तथा लेखक भरत दाहाललाई प्रहरीले मोरङको बेलबारीबाट पक्राउ गरेको छ।
मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक कवित कटुवालका अनुसार दाहाललाई आइतबार बिहान बेलबारी क्षेत्रबाट नियन्त्रणमा लिइएको हो। साइबर ब्युरोमा परेको उजुरीका आधारमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दाहालविरुद्ध मोरङमा कुनै उजुरी छैन। साइबर ब्युरोको अनुरोधमा पक्राउ गरिएका उनलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि आइतबार नै काठमाडौं ल्याउने तयारी भइरहेको छ।
दाहाल पछिल्लो समय सरकारका गतिविधिबारे सार्वजनिक रूपमा आलोचनात्मक धारणा राख्दै आएका थिए। यद्यपि पक्राउको औपचारिक आधार साइबर ब्युरोमा परेको उजुरी तथा अदालतबाट जारी पक्राउ पुर्जी रहेको प्रहरीले जनाएको छ।
दाहाल मोरङमा राजनीतिक कार्यक्रममा सहभागी हुन पुगेका थिए। उनलाई थप अनुसन्धानका लागि काठमाडौं पठाइने प्रहरीले जनाएको छ।




















