धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका–३ बञ्चरेमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
तांखुवाबाट धरानतर्फ जाँदै गरेको को १ ज २४९४ नम्बरको जिप आइतबार बिहान अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेको हो।
धनकुटाका प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीका अनुसार दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
जिपमा ११ जना सवार रहेको र दुर्घटनामा केही यात्रु घाइते भएको प्रहरीले जनाएको छ। दुर्घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेर उद्धार तथा आवश्यक अनुसन्धान थालेको छ।
सडकको अवस्था कठिन रहेकाले जिप अनियन्त्रित भएर दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। घटनाबारे थप विवरण आउन बाँकी छ।




















