काठमाडाैं । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको छ ।
यसको प्रभावले लुम्बिनी प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहेको छ भने बाँकी तराई भूभागमा आंशिक बदली रहेको छ । हाल बागमती प्रदेशका थोरै तथा कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो हिमाली र पहाडी भूभागमा सामान्यतया बदली तथा तराई भूभागमा आंशिक बदली रहनेछ । हिमाली तथा पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। तराईका एक–दुई स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ ।
त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । आज राति पनि देशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।
रातिको समयमा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका थोरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ ।
यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा पनि चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा समेत चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ । वर्षासँगै चट्याङ र स्थानीय रूपमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुपर्ने देखिन्छ ।




















