काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को खेलतालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले कात्तिक ९ गते (२६ अक्टोबर)देखि सुरु हुने प्रतियोगिताको खेलतालिका सार्वजनिक गरेको हो ।
सार्वजनिक तालिकाअनुसार उद्घाटन खेलमा गत संस्करणको विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ ।
एनपीएलका समूह चरणका खेलहरू १५ नोभेम्बरसम्म सञ्चालन हुनेछन् । यसपटक पनि प्रतियोगिताका खेल दिउँसो तथा राति फ्लडलाइटमा खेलाइनेछ ।
तालिकाअनुसार १७ नोभेम्बरमा क्वालिफायर–१ हुनेछ । यसमा लिग चरणमा पहिलो र दोस्रो स्थानमा रहने टोलीबीच प्रतिस्पर्धा हुनेछ । १८ नोभेम्बरमा तेस्रो र चौथो स्थानमा रहने टोलीबीच एलिमिनेटर खेल हुनेछ ।
१९ नोभेम्बरमा क्वालिफायर–२ हुनेछ । क्वालिफायर–१ मा पराजित टोली र एलिमिनेटरको विजेताबीच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको फाइनल खेल २१ नोभेम्बरमा हुनेछ ।
एनपीएलको पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो भने सुदूरपश्चिम रोयल्स दुवै संस्करणमा उपविजेता बनेको थियो ।





















