काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भौगोलिक र राजनीतिक दुवै हिसाबले संवेदनशील क्षेत्रमा रहेको बताएकी छन् ।
शनिबार काठमाडौँमा आयोजित ‘हिमाल, जलवायु र विपद् अन्तरसंवाद’ कार्यक्रममा उनले नेपाल उत्तर र दक्षिणतर्फका ठूला छिमेकी मुलुकहरूको बीचमा रहेकाले आफ्नो भौगोलिक अवस्थिति र संवेदनशीलतालाई दीर्घकालीन नीतिमार्फत सम्बोधन गर्नुपर्ने बताइन् ।
नेपाल ठूलो जनसङ्ख्या भएका तथा विकसित मुलुकहरूको बीचमा रहेको उल्लेख गर्दै उनले देशका आवश्यकता र समस्याप्रति राज्य थप संवेदनशील हुनुपर्नेमा जोड दिइन् ।
प्राकृतिक सुन्दरता र महत्त्वका हिसाबले नेपाल सम्पन्न भए पनि समस्या र विपद्को दीर्घकालीन समाधान गर्न नसक्दा पटक–पटक तत्कालीन समस्या झेल्नुपरेको उनले बताइन् ।
पूर्वराष्ट्रपति भण्डारीले विपद् व्यवस्थापनसहित मुलुकका दीर्घकालीन समस्या समाधानमा राज्यको ध्यान केन्द्रित हुनुपर्ने बताइन्।
‘अन्तरनिर्भर अर्थतन्त्रका लागि पहिले आत्मनिर्भर बन्नुपर्छ’
पूर्वराष्ट्रपति भण्डारीले नेपालको व्यापार घाटा कम गर्न आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिनुपर्ने बताएकी छन् ।
नेपालको आर्थिक अवस्थाबारे चर्चा गर्दै उनले अन्तरनिर्भर अर्थतन्त्र निर्माणका लागि पहिले आत्मनिर्भर बन्न आवश्यक रहेको बताइन् । नेपालमा ठूलो व्यापार कारोबार भए पनि त्यसको तुलनामा स्वदेशी उत्पादनको हिस्सा र अर्थतन्त्रले प्राप्त गर्ने लाभ पर्याप्त नभएको उनको भनाइ छ।
नेपालको अर्थतन्त्रको अवस्थाप्रति आफूले विगतमा ‘नेपालको अर्थतन्त्र खुट्टाले टेकेर हिँड्नुपर्नेमा टाउकाले टेकेको’ टिप्पणी गरेको उनले स्मरण गरिन् ।
उनले नेपालको आर्थिक तथा राजनीतिक अवस्थाको मूल्याङ्कन गर्दा कुनै निश्चित शासन व्यवस्थालाई मात्र दोष दिनुभन्दा दीर्घकालीन अवधिको समग्र मूल्याङ्कन गर्नुपर्ने बताइन् ।
राष्ट्रिय हितलाई केन्द्रमा राखेर आर्थिक तथा सामाजिक अवस्थाबारे बहस गर्नुपर्नेमा जोड दिँदै उनले ठूला विपद् तथा संकटको सामना गर्न राष्ट्रिय भावना र राष्ट्रिय एकता आवश्यक रहेको बताइन् ।
राष्ट्रिय समस्या समाधानका लागि साझा एजेण्डा तय गरी सबै पक्ष एक ठाउँमा उभिनुपर्ने उनको भनाइ छ ।




















