काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको बताएका छन् ।
संविधान दिवसका अवसरमा संविधान दिवस मूल समारोहमा समितिले शनिबार आयोजना गरेको कार्यक्रममा उनले शहीदका रगतले लेखिएको संविधान, हामी कामले पूरा गर्छौ भने।
प्रधानमन्त्रीले भने, ‘संविधानप्रतिको निष्ठा र यसको पालनामा हामी पूर्ण प्रतिबद्ध छौँ, म यो बाचा आज फेरि दोहोर्याउँछु । संविधान जारी भएको दिन हरेक वर्ष आउँछ तर संविधान पूरा हुने दिन हामीले आफैँ ल्याउनुपर्छ, हरेक इमानदार निर्णयबाट, हरेक पारदर्शी नियुक्तिबाट, नागरिकको घरदैलोमा पुग्ने हरेक सेवाबाट ।’
जनताले सुशासन, विकास, समृद्धि र सामाजिक न्याय मागेका बताउँदै उनले सरकारको हरेक कदम त्यही आकाङ्क्षातर्फ केन्द्रित रहेको र रहने प्रतिबद्धता व्यक्त गरे।
प्रधानमन्त्री शाहले प्रतिस्पर्धात्मक बहुदलीय लोकतन्त्र, मानव अधिकार र कानूनी राज्य हाम्रा लागि सर्तहरू नभइ हाम्रो राष्ट्रिय जीवनको आधार भएका बताए।
प्रधानमन्त्री शाहले भने, “यो सुरुवात हो, अन्त्य होइन । भ्रष्टाचार र दण्डहीनताको जरो गहिरो छ । तर त्यो जरो उखेल्ने हातहरू अब झन् बलिया छन्, झन् धेरै छन् । विकासका लागि सुशासन अनिवार्य पूर्वशर्त हो भन्ने कुरामा सरकार सचेत छ ।”
वर्तमान सरकारले सुशासन कायम गर्न प्रशासनिक संरचनाको उपयुक्त आकार निर्धारण, भ्रष्टाचारविरूद्ध शून्य सहनशीलता, प्रशासन यन्त्रमा राजनीतिक तटस्थता र सरकारी एवं सार्वजनिक पदमा योग्यतामा आधारित नियुक्ति प्रक्रिया अवलम्बन गरेको उनको भनाइ थियो ।
‘सुशासन नारा होइन, काम हो, हामी काम गरिरहेका छौ । सङ्घ, प्रदेश र स्थानीय तहबीच सहकारिता, सहअस्तित्व र समन्वयका आधारमा राष्ट्र विकासको साझा उद्देश्य प्राप्त गर्न सङ्घीय सरकार प्रतिबद्ध छ’, उनले भने।
प्रधानमन्त्री शाहले आफूहरू पुरानै बाटो मात्र नहिँड्ने उल्लेख गर्दै कृत्रिम बुद्धिमता, डिजिटल प्रविधि र साइबर सुरक्षालाई सँगै लिएर, नवप्रवर्तन र नवउद्यमीलाई अगाडि राखेर, ज्ञानमा आधारित अर्थतन्त्र निर्माण गरिने बताए।
डिजिटल सुशासन कार्ययोजनाअनुसारको राष्ट्रिय डिजिटल पूर्वाधार त्यसैको जग भएको उल्लेख गर्दै प्रधानमन्त्रीले युवाले सडकमा मागेको सुशासन प्रविधिबाट पनि सुनिश्चित गरिने प्रतिबद्धता जनाए।
प्रधानमन्त्री शाहले भोटेकोशी बाढीबाट भएको क्षति हाम्रा लागि अकल्पनीय र अपुरणीय भएको आजको यस विशेष घडीमा विपद् व्यवस्थापन एवं उद्धारमा सहयोग गरेका सबै मित्रराष्ट्र, अन्तरराष्ट्रिय समुदाय एवं संघसंस्था, निजी क्षेत्र, राष्ट्रसेवक कर्मचारी, आम नागरिक तथा देशवासीप्रति आभार प्रकट गरे।
प्रधानमन्त्री शाहले नेपालको राजनीतिक व्यवस्थाको परिवर्तन र सुशासनको मागगरी गरिएका आन्दोलनमा आफ्नो ज्यान आहुती गर्ने सम्पूर्ण ज्ञात–अज्ञात शहीदहरू तथा ऐतिहासिक जेन-जी आन्दोलनमा सहादत प्राप्त गरेका जेन-जी सुशासन योद्धाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरे। साथै उनले भोटेकोशी बाढीमा जीवन गुमाएका सबै स्वदेशी तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवदेना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरे।




















