काठमाडौं । आज असोज ३ गते, संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइँदैछ । २०७२ साल असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी भएको दिनको स्मरणमा हरेक वर्ष संविधान दिवस मनाउने गरिन्छ ।
संविधान जारी भएको दिनलाई सरकारले राष्ट्रिय दिवसका रूपमा मनाउँदै आएको छ । दिवसका अवसरमा काठमाडौंसहित देशभर विभिन्न कार्यक्रम आयोजना गरिएका छन् ।
संविधान दिवसको मुख्य समारोह काठमाडौंमा आयोजना हुँदै आएको छ । समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्षलगायत संवैधानिक निकायका प्रमुख तथा उच्च पदस्थ अधिकारीहरूको सहभागिता रहने गर्दछ ।
संविधान दिवसका अवसरमा प्रदेश सरकार र स्थानीय तहहरूले पनि विभिन्न कार्यक्रम आयोजना गरेका छन् । राजनीतिक दल, संघसंस्था तथा नागरिकस्तरबाट समेत शुभकामना आदानप्रदान, अन्तरक्रिया, दीप प्रज्वलनलगायत कार्यक्रम आयोजना गर्ने गरिन्छ ।
दिवसका अवसरमा विभिन्न राजनीतिक दलका नेता तथा संवैधानिक पदाधिकारीहरूले शुभकामना सन्देश जारी गर्दै संविधानको कार्यान्वयन, संरक्षण र संस्थागत विकासमा जोड दिएका छन् ।
नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता, समानुपातिक प्रतिनिधित्व तथा मौलिक हकलाई संस्थागत गरेको छ। संविधान जारी भएको एक दशक पूरा हुन लाग्दा यसको कार्यान्वयन, उपलब्धि र बाँकी चुनौतीबारे समेत विभिन्न क्षेत्रमा बहस हुँदै आएको छ।
संविधान दिवसले संविधानका मूल भावना र व्यवस्थालाई व्यवहारमा कार्यान्वयन गर्दै लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ बनाउने प्रतिबद्धता दोहोर्याउने अवसरका रूपमा समेत महत्व राख्दै आएको छ।



















