काठमाडौं । जनमत पार्टीको राष्ट्रिय अध्यक्षमा डा. सीके राउत निर्विरोध निर्वाचित भएका छन्।
पार्टीको दोस्रो महाधिवेशनअन्तर्गत बिहीबार मनोनयनपत्र दर्ता गर्ने क्रममा अध्यक्ष पदमा राउतको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्।
अध्यक्ष पदमा निर्विरोध भए पनि अन्य पदमा भने निर्वाचन हुने भएको छ। जनमत पार्टीको दोस्रो महाधिवेशन आगामी असोज ९ र १० गते वीरगञ्जमा हुँदैछ।
प्रारम्भिक उम्मेदवार सूचीअनुसार सात जना उपाध्यक्ष निर्वाचित हुने पदमा १४ जनाको उम्मेदवारी परेको छ।
उपाध्यक्ष पदमा वसन्तकुमार कुशवाहा (रौतहट), अनिता साह (धनुषा), अनिता मण्डल (सिरहा), डा. जयकान्त राउत (सप्तरी), नरेन्द्रप्रसाद चौधरी (कपिलवस्तु) र माधवप्रसाद सिंह (पर्सा)ले उम्मेदवारी दिएका छन्।
त्यस्तै राजकुमार यादव त्यागी (सिरहा), डा. कमरुल्लाह अन्सारी (बारा), सञ्जयकुमार मिश्र (रुपन्देही), मदनेशकुमार चौधरी (सप्तरी), परमेश्वर मुर्मु (मोरङ), रोसन खातुन (बारा), हरपाल सिंह सोडी (बाँके) र मनोहरी देवी वैठाले (सर्लाही) पनि उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन्।
केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजेशकुमार मण्डलका अनुसार एक जना निर्वाचित हुने महासचिव पदमा ममता झा (सप्तरी), चन्दनकुमार सिंह (महोत्तरी) र सञ्जयकुमार यादव (सिरहा)को उम्मेदवारी परेको छ।
त्यस्तै, एक जना निर्वाचित हुने उपमहासचिव पदमा निर्मलकुमार मण्डल (सिरहा) र ललितचन्द्र मल्लिक (रौतहट)ले उम्मेदवारी दिएका छन्।
सात जना निर्वाचित हुने सचिव पदमा १० जनाको उम्मेदवारी परेको छ। सचिव पदका उम्मेदवारमा सन्तोषकुमार सहनी (धनुषा), सुरेन्द्र शर्मा मधेशी (सप्तरी), हरेन्द्र चौधरी (रौतहट), अन्जनीदेवी (महोत्तरी), रोहित महतो (सिरहा), पारसप्रसाद साह (बारा), राधाकुमारी यादव (बाँके), बालगोविन्द चौधरी (नवलपरासी), वीरेन्द्र महतो ‘जीवन त्यागी’ (महोत्तरी) र रामबाबु साह (बारा) रहेका छन्।




















