काठमाडौँ । नेकपा (एमाले) ले संविधान दिवस विभिन्न रचनात्मक कार्यक्रमसहित मनाउन मातहतका सबै कमिटीलाई निर्देशन दिएको छ।
एमालेका महासचिव शंकर पोखरेलले प्रदेश, जिल्ला तथा पालिका कमिटीलाई पत्राचार गर्दै असोज ३ गते संविधान दिवसका अवसरमा विगतका वर्षमा झैँ यस वर्ष पनि विभिन्न रचनात्मक कार्यक्रम आयोजना गर्न निर्देशन दिएका हुन्।
महासचिव पोखरेलले संविधानको रक्षाको सन्देश प्रवाह हुने गरी आ-आफ्नो क्षेत्र र स्तरमा प्रभातफेरी, दीपप्रज्ज्वलन, विचार गोष्ठी, सरसफाइलगायत रचनात्मक कार्यक्रम आयोजना गर्न आग्रह गरेको एमालेले जनाएको छ।
एमालेले संविधान दिवसलाई राष्ट्रिय महत्त्वका साथ मनाउँदै संविधानको संरक्षण र कार्यान्वयनप्रति पार्टीको प्रतिबद्धता जनाउन मातहतका कमिटीलाई आह्वान गरेको छ।




















