काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र जारी विवाद र विभाजनको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै असुरक्षा, अपमान र घृणा सिर्जना गरेर निर्माण गरिने कांग्रेस स्वीकार्य नहुने बताएका छन्।
बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै कोइरालाले कांग्रेसका दुवै पक्षबाट गर्न खोजिएको महाधिवेशनप्रति आशंका व्यक्त गरेका हुन्। उनले कांग्रेसलाई विभाजन गर्न विभिन्न किसिमका चलखेल भइरहेको हुनसक्ने आशंकासमेत व्यक्त गरेका छन्।
कोइरालाले कांग्रेसले विगतमा कसैको गोटी बनेर देशको स्वाधीनता र लोकतन्त्रसँग सम्झौता नगरेको स्मरण गरेका छन्। पद, प्रतिष्ठा र प्रलोभनभन्दा माथि उठेर संस्थापक नेताहरूले निष्ठा, आदर्श र नैतिक शक्तिसहितको कांग्रेस निर्माण गरेको उनको भनाइ छ।
‘कांग्रेसले कहिल्यै कसैको गोटी भएर देशको स्वाधिनता र लोकतन्त्रसँग सम्झौता गर्न चाहेन। पद, प्रतिष्ठा र प्रलोभनमा नपरी विगतमा हाम्रा संस्थापक नेताहरूले हामीलाई निष्ठा, आदर्श र नैतिक शक्तिसहितको कांग्रेस छाडेर गएका छन्,’ उनले भनेका छन्।
तर अहिले कांग्रेसको राजनीतिक दिशा अन्यत्रबाट तय भइरहेको हो कि भन्ने आशंका उत्पन्न भएको उनले बताएका छन्।
‘दुःखका साथ भन्नुपर्छ, यतिखेर नेपाली कांग्रेसको पटकथा कहाँबाट, कसले, कसरी लेखिरहेका छन् मलाई थाहा छैन,’ कोइरालाले भनेका छन्, ‘मलाई यसबाट पीडा छ र मेरो पीडासँग तमाम कार्यकर्ता साथीहरूको भावना जोडिएको छ, जो कांग्रेस एकढिक्का भएर राष्ट्र निर्माणमा यो पार्टीको नेतृत्वदायी भूमिका होस् भन्ने चाहन्छन्।’
उनले कांग्रेसका कुनै कार्यकर्ता हार्ने र कुनै कार्यकर्ता जित्ने खेलमा आफू सहभागी नहुने स्पष्ट पारेका छन्। दुवै पक्षबाट छुट्टाछुट्टै महाधिवेशन गर्न खोजिँदा पार्टीका कार्यकर्ता विभाजित हुने उनको भनाइ छ।
‘म कांग्रेस विभाजनबाट रोमाञ्चित हुनै सक्दिनँ। म को ठीक, को बेठीक भनेर वकालत कसरी गर्न सक्छु? कांग्रेस हुँ भन्ने तर आफ्नै साथीभाइमाथि असुरक्षा, अपमान र घृणा पैदा गरेर निर्माण गरिने कांग्रेसको महलमाथि म बस्न सक्दिनँ,’ उनले भनेका छन्।
कांग्रेसभित्र कोही हार्ने र कोही जित्ने अवस्थालाई ‘विजयी कांग्रेस’का रूपमा उत्सव मनाउन नसकिने पनि कोइरालाले बताएका छन्। यस्तो संस्कार कांग्रेसको मूल संस्कृति र परम्पराभन्दा फरक हुने उनको धारणा छ।
कोइरालाले आफू मध्यमार्गमा रहेर पार्टीलाई एकताबद्ध बनाउने प्रयासमा लाग्ने बताएका छन्।
‘मलाई थाहा छ, मध्यमार्ग कठिन मार्ग हो। मलाई यो पनि थाहा छ, यही मार्ग सत्यको बाटो हो। यही मार्ग कांग्रेसको मार्ग हो र यही मार्ग कांग्रेसको जीवन दर्शन हो,’ उनले भनेका छन्।
आफूलाई विभिन्न आरोप लागे पनि कांग्रेस र देशको लोकतन्त्र सफल भएको हेर्ने ‘कांग्रेस सिपाही’का रूपमा काम गरिरहने कोइरालाले बताएका छन्।




















