काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई पार्टीको आगामी महाधिवेशन उद्घाटन गरिदिन आग्रह गरेका छन्।
ललितपुरको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले पूर्वसभापतिका रूपमा देउवाले महाधिवेशन उद्घाटन गरिदिँदा पार्टीका लागि सम्मानको विषय हुने बताएका हुन्।
‘मेरो आदरणीय नेता पूर्वसभापति शेरबहादुर देउवालाई आग्रह गर्न चाहन्छु। अधिवेशनको दिनमा पार्टीका पूर्वसभापतिले अधिवेशनको उद्घाटन गरिदिने कुरा हाम्रा निम्ति सम्मानको विषय हुन्छ,’ थापाले भने।
थापाले देउवा अब पुनः पार्टी सभापति बन्ने बाटोमा लाग्न नहुने पनि बताए। कांग्रेसको विधानले समेत पूर्वसभापतिका लागि पुनः सभापति बन्ने बाटो बन्द गरेको उनको भनाइ थियो।
‘पार्टीको विधानले पनि त्यही भन्छ। उहाँ अब पार्टीको सभापति बन्ने होइन,’ थापाले भने।
सभापति थापाका अनुसार कांग्रेसको महाधिवेशन असोज १६ गते काठमाडौंको खुलामञ्चमा उद्घाटन हुनेछ। त्यसअघि असोज ३ र ४ गते वडा अधिवेशन सम्पन्न गरिनेछ।
वडा अधिवेशनपछि स्थानीय तहका अधिवेशन गरिने र जिल्ला तथा प्रदेश अधिवेशनको मिति तथा प्रक्रियाबारे थप छलफल गरिने उनले बताए।
पार्टीभित्रको एकतालाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्नेमा जोड दिँदै थापाले भने, ‘पार्टीका साथीहरूसँग थप छलफल गर्ने वातावरण बन्छ भन्ने पनि हो। सकेसम्म पार्टीको एकताका लागि हामी उभिनुपर्छ।’
बिहीबारको केन्द्रीय कार्यसमिति बैठकमा देउवा पक्षका केही नेतासमेत सहभागी भएका छन्। कांग्रेसको वडा अधिवेशन असोज ३ गतेदेखि सुरु हुँदैछ।




















