काठमाडौँ । चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा सरकारको खर्च आम्दानीभन्दा करिब ९ अर्ब ७२ करोड रुपैयाँ बढी भएको छ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार भदौ मसान्तसम्म सरकारको कुल खर्च १ खर्ब ९९ अर्ब ८३ करोड ७२ लाख रुपैयाँ पुगेको छ। यो वार्षिक बजेटको ९ दशमलव ४१ प्रतिशत हो।
कुल खर्चमध्ये चालूतर्फ १ खर्ब २२ अर्ब ३ करोड ५४ लाख रुपैयाँ खर्च भएको छ। चालू आर्थिक वर्षका लागि चालूतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड ९० लाख रुपैयाँ विनियोजन गरिएकोमा हालसम्म ९ दशमलव ६ प्रतिशत खर्च भएको हो।
यस्तै, पुँजीगततर्फ ४ खर्ब ३१ अर्ब १० करोड ६३ लाख रुपैयाँ बजेट विनियोजन गरिएकोमा भदौ मसान्तसम्म ७ अर्ब ६६ करोड ४८ लाख रुपैयाँ अर्थात् १ दशमलव ७८ प्रतिशत मात्रै खर्च भएको छ।
वित्तीय व्यवस्थातर्फ भने ४ खर्ब २२ अर्ब ६४ करोड ९१ लाख रुपैयाँ विनियोजन गरिएकोमा हालसम्म ७० अर्ब १३ करोड ७० लाख रुपैयाँ खर्च भएको छ। यो वार्षिक लक्ष्यको १६ दशमलव ५९ प्रतिशत हो।
दुई महिनामा १ खर्ब ९० अर्ब राजस्व
सरकारले भदौ मसान्तसम्म १ खर्ब ९० अर्ब १० करोड ७९ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। यो वार्षिक राजस्व लक्ष्यको ११ दशमलव ५८ प्रतिशत हो।
कर राजस्वतर्फ चालू आर्थिक वर्षमा १४ खर्ब ३ अर्ब ३१ करोड ८३ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएकोमा भदौ मसान्तसम्म १ खर्ब ७२ अर्ब ४२ करोड ९७ लाख रुपैयाँ उठेको छ। यो वार्षिक लक्ष्यको १२ दशमलव २ प्रतिशत हो।
गैरकर राजस्वतर्फ १ खर्ब ७७ अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य रहेकामा हालसम्म १० अर्ब ७७ करोड ६९ लाख रुपैयाँ अर्थात् ६ दशमलव ९ प्रतिशत संकलन भएको छ।
त्यस्तै, चालू आर्थिक वर्षमा सरकारले ६१ अर्ब ७४ करोड ५४ लाख रुपैयाँ प्रत्यक्ष वैदेशिक अनुदान प्राप्त गर्ने लक्ष्य राखेको छ। भदौ मसान्तसम्म ५ अर्ब ५३ करोड रुपैयाँ अर्थात् लक्ष्यको ८ दशमलव ९६ प्रतिशत अनुदान प्राप्त भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ।




















