काठमाडौं । रसुवाको भोटेकोशीमा गएको बाढीपछि उत्पन्न विपद् तथा जलवायु परिवर्तनका विषयमा अध्ययन र काम गर्न संसदीय विशेष समिति गठनको तयारी गरिएको छ।
समिति गठनका विषयमा संसद्मा प्रतिनिधित्व गर्ने दलका संसदीय दलका नेता, उपनेता र प्रमुख सचेतकबीच प्रारम्भिक छलफल भइरहेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मुख्य सचेतक कविन्द्र बुर्लाकोटीका अनुसार बुधबार सम्पन्न सर्वदलीय बैठकमा भएको सहमतिअनुसार संसदीय समिति गठनका विषयमा छलफल अघि बढाइएको हो।
सर्वदलीय बैठकले प्राकृतिक विपद्पछिको अवस्थामा आवश्यक काम र समन्वय गर्न दुईवटा सर्वदलीय संयन्त्र गठन गर्ने निर्णय गरेको थियो। त्यसमध्ये एउटा संसद् बाहिर र संसद्मा रहेका दलहरू सहभागी हुने उच्चस्तरीय राजनीतिक संयन्त्र तथा अर्को संसद्मा प्रतिनिधित्व गर्ने दलहरू सम्मिलित संसदीय समिति रहनेछ।
रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार सत्तारुढ रास्वपाका सभापति रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठन भइसकेको छ।
लामिछाने नेतृत्वको संयन्त्रमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी र जनता समाजवादी पार्टी नेपाल सहभागी हुनेछन्।
राष्ट्रिय जनमोर्चालाई समेत संयन्त्रमा सहभागी गराउन अनुरोध गर्ने निर्णय भएको खरेलले जानकारी दिएका छन्।




















