काठमाडौँ । तीनदिने भारत भ्रमणमा गएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बिहीबार भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता गर्ने भएका छन्।
भ्रमण तालिकाअनुसार अर्थमन्त्री वाग्लेले बिहीबार साँझ ५ बजे सीतारमणसँग भेटवार्ता गर्ने कार्यक्रम छ। सीतारमणकै निमन्त्रणामा वाग्ले बिहीबार बिहान भारत प्रस्थान गरेका हुन्।
भारत भ्रमणका क्रममा विपद्पछिको पुनर्निर्माण तथा नेपाल–भारतबीचको आर्थिक, राजनीतिक र कूटनीतिक सहकार्यका विभिन्न विषयमा छलफल हुने अर्थमन्त्रीको सचिवालयले जनाएको छ।
भ्रमणको दोस्रो दिन शुक्रबार बिहान वाग्लेले भारतका पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागिता जनाउनेछन्।
शुक्रबार साँझ ५ बजे उनले भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम छ। सोही दिन साँझ ७ः३० बजे भारत व्यापार प्रवर्द्धन संगठनका अध्यक्ष जावेद अश्राफले आयोजना गर्ने बृहत् भेटघाट कार्यक्रममा पनि वाग्ले सहभागी हुनेछन्।
भ्रमणको तेस्रो दिन शनिबार बिहान ९ः३० बजे भारतीय उद्योग परिसंघले आयोजना गर्ने प्रतिष्ठित औद्योगिक घरानाका प्रतिनिधिसँगको सम्मेलनमा अर्थमन्त्री वाग्ले प्रमुख वक्ताका रूपमा सहभागी हुनेछन्।
त्यसपछि बिहान ११ः३० बजे दिल्ली स्कुल अफ इकोनोमिक्सले आयोजना गर्ने विकास अर्थनीतिसम्बन्धी प्राज्ञिक छलफलमा उनी प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम छ। शनिबारै अपराह्न ४ बजे वाग्ले स्वदेश फर्कने कार्यतालिका रहेको छ।
अर्थमन्त्री वाग्लेको भ्रमण टोलीमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल, परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्रराज भण्डारी, नयाँदिल्लीस्थित नेपाली राजदूतावासका उपनियोग प्रमुख डा. सुरेन्द्र थापा, इकोनोमिक्स मिनिस्टर तारानाथ अधिकारी तथा अर्थमन्त्रीका निजी उपसचिव कञ्चन बस्नेतलगायत छन्।




















