काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत भ्रमण जाने भएका छन्। भारत सरकारको निमन्त्रणामा अर्थमन्त्री वाग्ले बिहीबार तीन दिने भारत भ्रमणमा जान लागेका हुन्।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनको भारत भ्रमण स्वीकृत गरेको हो। ६ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अर्थमन्त्री वाग्ले बिहीबार नयाँ दिल्ली प्रस्थान गर्नेछन्। भ्रमण टोलीमा अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयका अधिकारीहरू सहभागी हुनेछन्।
दुई देशबीचको आर्थिक, राजनीतिक र कूटनीतिक विषयका विभिन्न आयाममा सहकार्य गर्नु यस भ्रमणको मुख्य उद्देश्य रहेको अर्थ मन्त्रालयले जानकारी दिएको छ।
बिहीबार साँझ ५ बजे उनले आफ्ना भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता गर्ने कार्यक्रम छ। त्यस्तै शुक्रबार अर्थमन्त्री डा. वाग्लेले भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता गर्ने कार्यतालिका छ। सोही दिन भारतका पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा उनी प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्।



















