काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रमेश प्रसाईंले सरकारकै पालामा बजारमा महँगी बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद प्रसाईंले एकातिर देश विपद्को सामना गरिरहेका बेला अर्कोतिर बजारमा उपभोग्य वस्तुको मूल्य बढेको बताए।
उनले भने, ‘एकातिर देश विपद्ले छटपटाइरहेका बेला अर्कोतिर बजार उदण्ड भयो। र मेरै सरकारको पालामा महँगीले अग्रगामी छलाङ लगायो।’
प्याज, चिनी, चामल, तेललगायत दैनिक उपभोग्य वस्तुको मूल्य बढेको उल्लेख गर्दै उनले मूल्यवृद्धिको मार सर्वसाधारणमा परेको बताए।
‘चिल्ला गाडी चढ्नेहरूलाई फरक पर्दैन। तर हामी जस्ताको त ढाड सेकियो त,’ उनले भने।
नवनिर्वाचित उद्योगमन्त्रीलाई शुभकामना दिँदै प्रसाईंले बजार अनुगमनलाई प्रभावकारी बनाउन र कालोबजारी नियन्त्रण गर्ने गरी काम गर्न आग्रह गरे।




















