काठमाडौँ । नेकपा (एमाले) ले असोज ५ देखि तीन दिनसम्म बस्ने गरी केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ।
एमाले प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार बैठक असोज ५, ६ र ७ गते बस्नेछ। बैठकको स्थान भने तय भइसकेको छैन। बैठकका एजेन्डा सचिवालय बैठकबाट तय गरिने उनले जानकारी दिए।
केन्द्रीय कमिटी बैठकमा निर्वाचनको समीक्षा तथा पार्टी पुनर्गठनका विषयमा अध्ययन गर्न गठित कार्यदलको प्रतिवेदनमाथि छलफल हुने बताइएको छ।
वरिष्ठ उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा गठित कार्यदलमा पार्टी पुनर्गठनबारे फरक धारणा समेटिएका दुईवटा प्रतिवेदन पेस भएका छन्। कार्यदलका सदस्यसचिव तथा महासचिव शंकर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने प्रस्तावसहित ६५ पृष्ठको प्रतिवेदन पेस गरेका छन्। त्यसको विपरीत धारणा राख्दै संयोजक बादलले ३९ पृष्ठको छुट्टै प्रतिवेदन तयार पारेका छन्।
हालै बसेको कार्यदल बैठकमा दुवै प्रतिवेदन पेस भएपछि तिनलाई समेटेर एउटै प्रतिवेदन तयार गर्ने सहमति भएको थियो। त्यसका लागि बादल, उपाध्यक्ष विष्णु पौडेल र महासचिव पोखरेललाई जिम्मेवारी दिइएको छ।
कार्यदलको आगामी बैठक असोज १ गते बस्ने तय भएको छ। त्यसअघि नै तीन नेताबीच दुई प्रतिवेदनका विषयमा छलफल गरी साझा प्रतिवेदन तयार गर्ने तयारी छ।
दुई प्रतिवेदनमा रहेका फरक धारणालाई कसरी समेटेर एउटै प्रतिवेदन तयार गरिन्छ भन्ने विषयलाई एमालेभित्र चासोका साथ हेरिएको छ।




















