काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन पार्टीका नेता-कार्यकर्तालाई अपिल गरेका छन्।
देउवाले पार्टीको विधि, विधान, पद्धति, परम्परा तथा केन्द्रीय समितिका निर्णयविपरीत अवैधानिकरूपमा विशेष महाधिवेशन गरिएको दाबी गर्दै त्यसबाट आएको समूहले आयोजना गर्ने महाधिवेशनमा सहभागी नहुन आग्रह गरेका हुन्।
मंगलबार जारी अपिलमा देउवाले विशेष महाधिवेशनको वैधतासम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा त्यसको अन्तिम निरूपण नहुँदै महाधिवेशन प्रक्रिया अघि बढाउनु विधि, विधान र कानुनी सिद्धान्तविपरीत हुने बताएका छन्।
‘विशेष महाधिवेशनको वैधतासम्बन्धी विषय सम्मानित सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा त्यसको अन्तिम निरूपण नहुँदै महाधिवेशनको प्रक्रिया अघि बढाउनु विधि, विधान र सर्वमान्य कानुनी सिद्धान्तविपरीतको कार्य हो,’ देउवाले भनेका छन्।
सर्वोच्च अदालतको पूर्ण इजलासले पुनरावलोकनको निस्सा प्रदान गरिसकेको उल्लेख गर्दै उनले यस विषयमा गम्भीर संवैधानिक तथा कानुनी प्रश्न रहेको बताएका छन्।
देउवाले पार्टीका अनुभवी नेतृत्वबाट निर्वाचन जित्न नसकिने भन्दै विशेष महाधिवेशन गरिएको र त्यसको पक्षमा गरिएका दाबीलाई निर्वाचन परिणामले असत्य सावित गरिसकेको दाबी पनि गरेका छन्। बहुसंख्यक नेता तथा कार्यकर्ताको सहभागिता बिना महाधिवेशन अघि बढ्नु कांग्रेसलाई कमजोर बनाउने गतिविधि भएको उनको भनाइ छ।
उनले आफूलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीको लोभ नरहेको पनि स्पष्ट पारेका छन्। तर, देश र पार्टीले आफ्नो अनुभवको सदुपयोग आवश्यक ठानेमा जीवनको अन्तिम क्षणसम्म जिम्मेवारी निर्वाह गर्न पछि नहट्ने उनको भनाइ छ।
देशभरिका महाधिवेशन प्रतिनिधिबाट विधिवत् सम्पन्न १४औँ महाधिवेशनबाट निर्वाचित सभापतिका रूपमा १५औँ महाधिवेशन सम्पन्न गरी पार्टीको नेतृत्व हस्तान्तरण गर्नु आफ्नो वैधानिक, राजनीतिक र नैतिक दायित्व भएको देउवाले बताएका छन्। ‘पार्टीलाई कमजोर गर्ने कार्य हुँदा म मुकदर्शक भएर बस्न सक्ने छैन,’ देउवाले भनेका छन्।
देउवाले नेपाली कांग्रेसका नेता-कार्यकर्ता, शुभेच्छुक तथा आम नागरिकलाई पार्टीभित्र देखिएको मतभेद अन्त्य गर्दै एकताबद्ध भएर आगामी मंसिर २१, २२ र २३ गते हुने १५औँ महाधिवेशनको तयारीमा जुट्न आग्रह गरेका छन्।




















