काठमाडौँ । नेपाली कांग्रेसका सांसद चन्द्रमोहन यादवले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले संसद्मा उठाएको विषयबारे सरकारको जवाफ माग गरेका छन्।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै यादवले सिंहले गम्भीर विषय उठाएको भन्दै त्यसबारे सरकारले स्पष्ट पार्नुपर्ने बताए।
सांसद सिंहले प्रधानमन्त्रीको सचिवालयले सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशक (डीजी)लाई बोलाएर कन्चटमा पेस्तोल तेर्स्याउँदै धम्की दिएको आरोप लगाएका थिए। यादवले सत्ता पक्षकै सांसदबाट यस्तो गम्भीर अभिव्यक्ति आएको भन्दै सरकारको ध्यानाकर्षण गराए।
उनले भने, ‘सत्ता पक्षकै सांसदबाट आएको वक्तव्यबारे ध्यानाकर्षण गराउन चाहन्छु। कहीँ सुन्नमा आएको छ, कन्चटमै पेस्तोल राखेर थर्काउने कुरा आएको छ। कहीँ कुरा आएको छ, प्रश्न गर्दाखेरि धम्की आउँदो रहेछ। यो कुरा असाध्यै अलोकतान्त्रिक कुरा हो। यसमा सरकारको के जवाफ छ, हामी सुन्न आतुर छौँ।’
लोकतान्त्रिक व्यवस्थामा हिंसा र भयको कुनै स्थान नहुने उल्लेख गर्दै यादवले सिंहले लगाएको आरोपबारे सरकारले संसद्मार्फत स्पष्ट जवाफ दिनुपर्ने बताए।




















