काठमाडौँ । रौतहटको मौलापुर नगरपालिकाकी नगरप्रमुख रिनाकुमारी साहले प्रधानमन्त्री बालेन्द्र शाहलाई खुलापत्र पठाउँदै नगरपालिकामा देखिएको प्रशासनिक संकट तत्काल समाधान गर्न माग गरेकी छन्।
संघीय सरकारले प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था नगर्दा नगरपालिकाको कामकाज प्रभावित भएको भन्दै उनले प्रधानमन्त्रीसमक्ष समस्या समाधानका लागि सार्वजनिक अपिल गरेकी हुन्।
नगरपालिकाले विगतमा ९० प्रतिशतभन्दा बढी वित्तीय तथा भौतिक प्रगति हासिल गर्दै आए पनि संघीय सरकारको हस्तक्षेपका कारण गत आर्थिक वर्षमा बजेट खर्च ५०.६८ प्रतिशतमा सीमित भएको पत्रमा उल्लेख गरिएको छ।
प्रधानमन्त्री शाह काठमाडौँ महानगरपालिकाको प्रमुख हुँदा दिएको अभिव्यक्ति स्मरण गराउँदै मेयर साहले पत्रमार्फत व्यंग्यात्मक प्रश्नसमेत गरेकी छन्।
उनले लेखेकी छन्, ‘तपाईं महानगरको नगर प्रमुख हुँदा सफाइ कर्मचारीको तलब एक हप्ताभित्र नदिए सबैलाई टुकुचामा गाडिदिने अभिव्यक्ति दिनुभएको थियो। मेरा कर्मचारीको तलब दुई महिनादेखि आठ महिनासम्म, जनप्रतिनिधिको सुविधा चार महिना र वडा सञ्चालन खर्च आठ महिनादेखि भुक्तानी हुन बाँकी छ। यसका लागि कस–कसलाई लालबकैयामा गाड्नुपर्ने हो, सल्लाह पाउँ।’
पत्रमा असार १२ गतेदेखि तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सम्पर्कविहीन भएको र त्यसपछि नयाँ अधिकृत आए पनि लामो समय कार्यालयमा उपस्थित नभएपछि नगरपालिका पुनः प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको उल्लेख छ।
मेयर साहका अनुसार असार २२ गते मन्त्रालय पुग्दा समेत सचिव र मन्त्रीसँग भेट हुन सकेन। त्यसपछि साउन ४ गते हाजिर भएका नयाँ प्रमुख प्रशासकीय अधिकृत पनि भदौ ५ गतेदेखि कार्यालयलाई जानकारी नदिई अनुपस्थित भएपछि निजामती सेवाबाट अवकाश लिएको र नगरपालिका पुनः हाकिमविहीन भएको हो।
प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरपालिकामा विभिन्न समस्या उत्पन्न भएको भन्दै साहले पाँच प्रमुख विषय औँल्याएकी छन्।
- – कर्मचारी, शिक्षक तथा जनप्रतिनिधि महिनौँदेखि तलब तथा सुविधाबाट वञ्चित।
– वडा नं. ९ सोनारनियामा निर्माणाधीन एकीकृत दलित बस्तीको भुक्तानी रोकिएपछि निर्माण कार्य अलपत्र।
– नगरसभाबाट पारित निःशुल्क बिजुली–पानी कार्यक्रमको महसुल भुक्तानी हुन नसक्दा ५ हजारभन्दा बढी विपन्न उपभोक्ताको विद्युत् लाइन काटिन थालेको।
– ‘छोरीसँग मेयर’ कार्यक्रमअन्तर्गत ३ सयभन्दा बढी विपन्न छोरीको विवाह अनुदान भुक्तानी हुन नसकेको।
– पेट्रोल पम्पले उधारोमा इन्धन दिन छाडेको, चिया पसलको भुक्तानी रोकिएको र इन्टरनेट सेवा काटिएको। चाडपर्व नजिकिँदै गर्दा फोहोरमैला व्यवस्थापनसमेत प्रभावित भई नगर दुर्गन्धित बन्न थालेको।
पूर्वनगर प्रमुखका रूपमा स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा उत्पन्न हुने समस्या प्रधानमन्त्री शाह स्वयंले अनुभव गरेको स्मरण गराउँदै साहले तत्काल अधिकृतको व्यवस्था गर्न माग गरेकी छन्।
पत्रको अन्त्यमा उनले भनेकी छन्, ‘हाकिमविहीनताको अवस्थाको कारण प्रधानमन्त्रीज्यू आफैँले भोगिसक्नुभएको अनुभवलाई आत्मसात् गर्दै यस नगरपालिकालाई थप अस्तव्यस्त हुनबाट जोगाउन अविलम्ब प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था हुन सादर अनुरोध छ।’




















