काठमाडौं । भारतले नेपाललाई दैनिक १८ घण्टासम्म विद्युत् निर्यात गर्ने भएको छ। भारतको विद्युत् मन्त्रालयले आगामी १३ सेप्टेम्बरदेखि ३१ डिसेम्बर २०२६ सम्म नेपाल विद्युत् प्राधिकरणलाई विद्युत् निर्यात गर्न स्वीकृति दिएको हो ।
विनाशकारी बाढीका कारण नेपालको जलविद्युत क्षेत्रमा गम्भीर क्षति पुर्याइरहेका बेला भारतले विद्युत निर्यात गर्ने निर्णय गरेको हो । स्वीकृतिअनुसार मुजफ्फरपुर-ढल्केबर ४०० केभी डबल सर्किट प्रसारण लाइनमार्फत अधिकतम ६०० मेगावाटसम्म तथा टनकपुर-महेन्द्रनगर १३२ केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत अधिकतम ५४ मेगावाटसम्म विद्युत् निर्यात गर्न सकिनेछ ।
भारतले राति १२ बजेदेखि साँझ ६ बजेसम्म गरी दैनिक १८ घण्टाका लागि विद्युत् निर्यातको अनुमति दिएको हो।
नेपालमा हालै आएको बाढीका कारण जलविद्युत् आयोजनाका पूर्वाधारमा ठूलो क्षति पुगेको र आन्तरिक विद्युत् उत्पादन क्षमता घटेकाले थप विद्युत् आवश्यक परेको भारतको विद्युत् मन्त्रालयले जनाएको छ।
विद्युत् निर्यातसम्बन्धी स्वीकृतिले कठिन परिस्थितिमा नेपाललाई विद्युत्को आवश्यकता पूरा गर्न सहयोग पुग्ने भारतको भनाइ छ। यसबाट नेपाल र भारतबीच लामो समयदेखि रहँदै आएको ऊर्जा सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
सन् २०२७ जनवरीदेखि नेपाललाई निर्यात गरिने विद्युत्को परिमाणबारे भने डिसेम्बर २०२६ मा पुनरावलोकन गरिने भारतले जनाएको छ।




















