काठमाडौं । महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता वादीले भोटेकोशी बाढी तथा अन्य विपद्का कारण अभिभावक गुमाएका र विशेष संरक्षण आवश्यक भएका बालबालिकाको दीर्घकालीन स्याहारको जिम्मेवारी सरकारले लिने बताएकी छन्।
राष्ट्रिय बाल दिवस २०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै मन्त्री वादीले विपद्का कारण धेरै परिवार प्रभावित भएको र कतिपय बालबालिकाले अभिभावक तथा आफन्त गुमाएको बताइन्।
परिवारबाट छुट्टिएका तथा संरक्षणको आवश्यकता भएका बालबालिकाको उद्धार, स्वास्थ्य उपचार, मनोसामाजिक सहयोग, परिवारको खोजी तथा पुनर्मिलनलाई सरकारले उच्च प्राथमिकतामा राखेको उनको भनाइ छ।
मन्त्री वादीका अनुसार ललितपुरको गोदावरी नगरपालिका–थेचोमा विशेष संरक्षण आवश्यक भएका बालबालिकाका लागि अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालनमा ल्याइएको छ। केन्द्रबाट आवास, खानपिन, स्वास्थ्य उपचार, मनोसामाजिक सहयोग, परिवारको खोजी तथा पारिवारिक पुनर्मिलनलगायत सेवा उपलब्ध गराइनेछ।
बाढी प्रभावित क्षेत्र र होल्डिङ सेन्टरमा रहेका बालबालिकाको गोपनीयता, मर्यादा र सुरक्षालाई प्राथमिकतामा राखिएको उनले बताइन्। प्रभावित जिल्लाका स्थानीय तह तथा बालबालिका राखिएका स्थानमा उनीहरूको अवस्था पहिचान, विस्तृत लेखाजोखा र आवश्यक संरक्षण सेवाका लागि सहजीकरण टोलीसमेत परिचालन गरिएको उनले जानकारी दिइन्।
सरकारले विपद्मा आमाबुवा गुमाएका तथा विशेष संरक्षण आवश्यक भएका बालबालिकाका लागि दीर्घकालीन संरक्षण योजना कार्यान्वयनमा ल्याएको उल्लेख गर्दै मन्त्री वादीले कुनै पनि बालबालिकाले आफूलाई एक्लो र असुरक्षित महसुस गर्नुपर्ने अवस्था आउन नदिने प्रतिबद्धता व्यक्त गरिन्।
उनले बालबालिकालाई हिंसा, दुर्व्यवहार, शोषण, बेचबिखन तथा असुरक्षाबाट जोगाउनु सरकारसँगै अभिभावक, विद्यालय, समुदाय, सञ्चारमाध्यम, नागरिक समाज, निजी क्षेत्र र बाल अधिकारका क्षेत्रमा कार्यरत संघसंस्थाको साझा दायित्व भएको बताइन्।
‘बालपनको रक्षा, भविष्यको सुरक्षा’ भन्ने राष्ट्रिय बाल दिवस २०८३ को नारालाई व्यवहारमा कार्यान्वयन गर्न सबै पक्षले सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ।




















