रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा जीप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ।
आइतबार बिहान सानीभेरी गाउँपालिका–६ कोटबाट जिल्ला सदरमुकाम खलंगातर्फ जाँदै गरेको लु १ च ६०२९ नम्बरको डबल क्याप जीप दुर्घटनामा परेको हो। प्रहरीका अनुसार जीप सडकबाट करिब १०० मिटर तल खसेको थियो।
दुर्घटनामा चालक र एक महिलाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डीएसपी बेदबहादुर पौडेलले जानकारी दिए। मृतक दुवैको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा वडा सदस्य वलबहादुर पुनसहित नौ जना घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर र पाँच जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
गम्भीर घाइतेलाई थप उपचारका लागि सानीभेरीबाट सुर्खेत लैजानुपर्ने भएकाले हेलिकप्टरको व्यवस्था गर्न आग्रह गरिएको छ। घाइतेलाई हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत लैजाने खर्च पालिकाले बेहोर्ने जनाएको छ।
दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।




















