वीरगन्ज । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री बालेन शाह नेतृत्वको वर्तमान सरकारप्रति जनताको ठूलो अपेक्षा भएपनि सरकारले जनताको चाहनाअनुसार काम गर्न नसकेको आरोप लगाएका छन्।
शनिबार वीरगन्जमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजकसमेत रहेका नेपालले भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका क्रममा सरकारले बेपत्ताको खोजी तथा उद्धारमा लापरबाही एवं ढिलाइ गरेका कारण थप जनधनको क्षति भएको दाबी गरे।
संविधानको रक्षा, संघीयता र समावेशिता जोगाउन परिवर्तनकारी शक्तिहरूबीच कार्यगत एकता आवश्यक रहेको बताए ।अहिले लोकतन्त्र, संघीयता, समावेशिता लगायतका संवैधानिक अधिकार कटौती हुने खतरा बढ्दै गएको भन्दै उनले त्यसको रक्षाका लागि परिवर्तनकारी शक्तिहरू एकजुट हुनुपर्ने बताए ।
पूर्वप्रधानमन्त्री नेपालले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएका घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने मागसमेत गरे।
समाजवादी प्रेस संगठन नेपाल पर्साका अध्यक्ष शम्भु कुमार सुमनको अध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रममा मधेस प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री कनिश पटेल, नेकपा पर्साका सह–इन्चार्ज मनोज चौधरी, जिल्ला संयोजक जयप्रकाश थारु, गंगा खड्का, बाबुराम कौशिक, केन्द्रीय सदस्य किशोरी कुशवाहा लगायतकाको पनि उपस्थिति थियो ।




















