वीरेन्द्रनगर । सल्यानमा शनिबार बिहान जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका त्रिवेणी गाउँपालिका वडा नं ५ का ५० वर्षीय डिल्लीबहादुर वलीको उपचारका क्रममा मृत्यु भएपछि मृतकको संख्या तीन पुगेको छ ।
वलीको दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवराज भट्टराईका अनुसार चिकित्सकले वलीलाई बिहान ११ : ५५ बजे मृत घोषणा गरेका हुन् ।
यसअघि त्रिवेणी गाउँपालिका वडा नं ६ पोखरीका ८ वर्षीय रेशम बुढाथोकी र त्रिवेणी गाउँपालिका वडा नं ५ सल्लेकी १८ वर्षीया बिपना बुढाथोकीको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा अन्य ३ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
शनिबार बिहान त्रिवेणी गाउँपालिका वडा नं ५ सिम्खस्थित भित्री सडकखण्डमा लुम्बिनी प्रदेश ०२-००१ ज ०००५ नम्बरको जिप अनियन्त्रित भई दुर्घटना भएको थियो।




















