काठमाडौं । एसीसी प्रिमियर कपको उपाधिका लागि नेपालले युएईलाई ३१४ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ। मलेसियाको क्वालालम्पुरस्थित वायुमस क्रिकेट ओभलमा टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको नेपालले ९ विकेटको क्षतिमा ३१३ रन बनाएको हो।
नेपालका लागि ओपनर ब्याटर आसिफ शेखले शतकीय पारी खेले। उनले १०६ बलमा ८ चौका र ४ छक्का सहित १०२ रन बनाए। पहिलो विकेटका लागि अर्का ओपनर अर्जुन कुमालसँग उनले ९७ रनको साझेदारी बनाउँदै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए। अर्जुन कुमाल ४३ रन बनाउँदै रन आउट भए। वान डाउनमा आएका इशान पाण्डेले १३ रन बनाउँदा रोहित कुमार पौडेलले ४० रन बनाए।
गुल्सन झाले ३८ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ५२ रनको अर्धशतकीय पारी खेले। दिपेन्द्र सिंह ऐरीले १८ रन बनाउँदा सन्दिप जोरा र करण केसी भने सस्तैमा पेभेलियन फर्किए। कप्तान सन्दीप लामिछाने डकउट हुँदा, वसिर अहमद १५ र ललित राजवंशी १ रनमा अविजित रहे।
युएईका लागि बलिङ तर्फ इब्रार अहमदले सर्वाधिक ४ विकेट लिए। खुजैमा बिन तान्भिरले २ विकेट लिँदा हैदर अलि र अदिब उस्मानीले १-१ विकेट लिए। आजको यो खेलमा यो लक्ष्य जोगाउन सकेमा नेपालले उपाधि जित्नेछ। उपाधिका साथसाथै नेपालले दोस्रो पटक एसिया कप खेल्ने मौका पाउनेछ।
आजको खेलमा वर्षा भएर खेल रद्द भएको खण्डमा समूह चरणको खेललाई आधार मानेर युएईले फाइनल जित्नेछ। फाइनल खेलको कुनै पनि रिजर्भ डे राखिएको छैन।
समूह बी को विजेताको रूपमा सेमीफाइनल र सेमिफाइनलमा हङकङलाई पराजित गर्दै फाइनल खेलिरहेको युएई को नतिजाको आधारमा युएईले उपाधि जित्नेछ।




















