काठमाडौं । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक आज (शनिबार) पनि बस्ने भएको छ । कार्यदलका सदस्य तथा एमाले सचिव महेश बस्नेतका अनुसार बैठकमा कार्यदलको प्रतिवेदनमाथि छलफल हुनेछ ।
कार्यदलको बैठक शुक्रबार पार्टी कार्यालय च्यासलमा संयोजक एवं उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को अध्यक्षतामा बसेको थियो । बैठकमा संयोजक थापा र सदस्यसचिव शङ्कर पोखरेलका छुट्टाछुट्टै प्रतिवेदन पेस भएका थिए ।
शुक्रबारको बैठकमा दुवै प्रतिवेदन अध्ययन गरी त्यसका आधारमा साझा धारणा बनाउने विषयमा छलफल भएको थियो । आज (शनिबार)को बैठकमा प्रतिवेदनका विषयवस्तुमाथि थप छलफल गर्दै एउटै प्रतिवेदन तयार गर्ने तयारी छ ।




















