काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल परिसरबाहिर महिलाले बच्चा जन्माएको घटनालाई सरकारले गम्भीरतापूर्वक लिएको बताएकी छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री मेहताले घटनाको सत्यतथ्य छानबिन भइरहेको र दोषी देखिए कानुनबमोजिम कारबाही गरिने स्पष्ट पारिन्।
उनका अनुसार घटना सार्वजनिक भएपछि मन्त्रालयले अस्पतालसँग २४ घण्टे स्पष्टीकरण मागेको थियो। अस्पतालले स्पष्टीकरण पेस गरिसकेको र घटनाको स्थलगत छानबिनका लागि नेपाल मेडिकल काउन्सिल तथा मन्त्रालयका प्रतिनिधिसहित पाँच सदस्यीय टोली राजविराज पुगिसकेको छ।
घटनाबारे जिल्ला प्रशासन कार्यालय सप्तरीले पनि छुट्टै छानबिन समिति गठन गरेको उनले जानकारी दिइन्। घटनाका समयमा ड्युटीमा रहेका अस्पतालका कर्मचारीलाई तत्काल कामकाजबाट हटाएर छानबिन अघि बढाइएको उनको भनाइ छ।
मन्त्रालयले घटनाबारे जानकारी पाएलगत्तै दिएको निर्देशनपछि आमा र नवजात शिशुलाई अस्पतालमा भर्ना गरी स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा उपचार तथा स्याहार भइरहेको उनले जानकारी दिइन्।
मन्त्री मेहताले छानबिन समितिको प्रतिवेदन प्राप्त भएपछि दोषी देखिएका व्यक्तिमाथि कानुनबमोजिम कारबाही गरिने बताइन्। साथै, स्वास्थ्य सेवामा देखिएका कमीकमजोरी पहिचान गरी आगामी दिनमा सुधार गर्दै जाने सरकारको प्रतिबद्धता रहेको उनले स्पष्ट पारिन्।




















