काठमाडौं । राजविराज नगरपालिका–१४ पर्साहीकी बबिता पासवानले आर्थिक अभावका कारण अस्पतालबाहिरै बच्चा जन्माउनुपरेको घटनाबारे सांसदहरूले सरकारसँग जवाफ मागेका छन्।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूले उक्त घटना स्वास्थ्य तथा सुरक्षित मातृत्वसम्बन्धी राज्यको नीति र जिम्मेवारीसँग जोडिएको भन्दै सरकार गम्भीर र जवाफदेही बन्नुपर्ने बताएका हुन्।
नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले नागरिकले एकपछि अर्को पीडा भोग्नुपरेको उल्लेख गर्दै राज्य यस्ता घटनाप्रति जिम्मेवार हुनुपर्ने बताए।
उनले तीन वर्षीया बालिकामाथि बलात्कारपछि हत्या भएको घटनादेखि भोटेकोशीमा आएको अकल्पनीय बाढीसम्मका घटनाले नागरिकलाई पीडित बनाइरहेको बताए। त्यहीबीच सुरक्षित मातृत्वका लागि गजेन्द्रनारायण सिंह अस्पताल पुगेकी बबिताले पैसा नभएकै कारण अस्पतालको गेटमै प्रसव गराउनुपर्ने अवस्था आउनु सामान्य घटना नभएको उनको भनाइ थियो।
‘यस्ता विषयलाई सम्बोधन गर्न के गर्नुपर्ने हो, त्यो गर्नुपर्छ र जवाफदेहिता प्रकट गर्नुपर्छ,’ दुलालले भने।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तोसिमा कार्कीले सुरक्षित मातृत्व सुनिश्चित गर्न आवश्यक नीति परिवर्तन गर्नुपर्ने बताइन्। सरकारले आवश्यक नीति बनाउनुपर्ने र त्यसका लागि संसद्ले सहयोग गर्ने उनको भनाइ थियो।
नेकपा एमालेकी सांसद भूमिका लिम्बू सुब्बाले आर्थिक अभावका कारण अस्पतालबाट सुत्केरी महिला निकालिनु दुःखद् घटना मात्र नभई सरकारको गैरजिम्मेवारीपनको उदाहरण भएको बताइन्।
‘अस्पतालको पेटीमा जन्मिएको नयाँ जीवनसँगै सरकारको संवेदनहीनता र गैरजिम्मेवारीपनको दुःखद् इतिहासको पनि जन्म भएको छ,’ उनले भनिन्।
नेपाली कांग्रेसकी सांसद गीता गुरुङले पनि घटनाप्रति आक्रोश व्यक्त गर्दै सुरक्षित मातृत्वको जिम्मेवारी राज्यको भएको बताइन्।
‘सप्तरीमा आर्थिक अभावका कारण अस्पताल बाहिर एक जना महिलाले बच्चा जन्माउनुपरेको घटनाले लज्जाबोध भएको छ। सुरक्षित मातृत्वको जिम्मेवारी राज्यको हो कि होइन ? कि तपाईंहरू (रास्वपा)को शासनकालमा पैसा नहुनेले सडकमै बच्चा जन्माउनुपर्ने हो ?’ उनले प्रश्न गरिन्।
सांसदहरूले आर्थिक अभावकै कारण कुनै पनि गर्भवती महिला उपचार र सुरक्षित प्रसूति सेवाबाट वञ्चित हुन नपर्ने व्यवस्था सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।




















