काठमाडौं । नेकपा एमालेकी सांसद भूमिका लिम्बू सुब्बाले पैसा नभएको भन्दै अस्पतालबाट सुत्केरी महिलालाई निकालिनु सरकारको गैरजिम्मेवारीपनको उदाहरण भएको बताएकी छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अस्पतालको पेटीमा बच्चा जन्मिनु सामान्य दुःखद घटना मात्र नभई राज्यको संवेदनहीनता र गैरजिम्मेवारीपनको प्रतिबिम्ब भएको टिप्पणी गरिन्।
‘अस्पतालको पेटीमा जन्मिएको नयाँ जीवनसँगै सरकारको संवेदनहीनता र गैरजिम्मेवारीपनको दुःखद इतिहासको पनि जन्म भएको छ,’ उनले भनिन्।
राजविराज नगरपालिका–१४ पर्साहीका हरेराम पासवानकी श्रीमती बबिता पासवानसँग उपचारका लागि आवश्यक रकम नभएपछि अस्पतालले भर्ना गर्न नमानेको र उनी अस्पतालनजिकैको फुटपाथमा बच्चा जन्माउन बाध्य भएको घटना सार्वजनिक भएको छ।
बबितासँग २ हजार ५ सय रुपैयाँ मात्रै रहेको र उक्त रकमले अस्पतालमा भर्ना हुन नपुगेपछि उनलाई अस्पतालबाट निकालिएको बताइएको छ। त्यसपछि उनले अस्पतालनजिकै फुटपाथमा शिशुलाई जन्म दिएकी थिइन्।
सांसद लिम्बूसहित अन्य सांसदहरूले पनि घटनालाई लिएर सरकारको जवाफदेहितामाथि प्रश्न उठाएका छन्। पैसा नभएकै कारण एउटी महिलाले सडकमा बच्चा जन्माउनुपर्ने अवस्था आउनु संविधानले प्रत्याभूत गरेको निःशुल्क स्वास्थ्यसम्बन्धी मौलिक हकको कार्यान्वयनमाथि गम्भीर प्रश्न भएको उनीहरूको भनाइ छ।
उनीहरूले घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न र आगामी दिनमा आर्थिक अभावका कारण कुनै पनि गर्भवती महिला उपचारबाट वञ्चित हुन नदिने व्यवस्था सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।




















