काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको प्रदर्शनी हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरेको छ।
कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले मंगलबार राष्ट्रिय सभा गृहका प्रमुखलाई पत्र पठाउँदै महाधिवेशनका लागि ती स्थान उपलब्ध गराउन अनुरोध गरेका हुन्।
चलानी नम्बर १०२९ रहेको पत्रमा ‘नेपाली कांग्रेस केन्द्रीय कार्यालय’को नाममा प्रदर्शनी हल, लबी, पार्किङ स्थल तथा बगैंचा बुकिङ गर्न आग्रह गरिएको छ।
कांग्रेसले महाधिवेशनका लागि असोज १५ देखि २० गतेसम्म ६ दिनका लागि राष्ट्रिय सभा गृहका उक्त संरचना बुक गरेको हो।
सभापति गगन थापाको सभापतित्वमा बसेको केन्द्रीय कार्यसमिति बैठकले असोज १५ देखि २० गतेसम्म १५औँ महाधिवेशन गर्ने निर्णय गरेको थियो।
यद्यपि, कांग्रेसको संस्थापनइतर पक्षले भने डा. शशांक कोइरालाको नेतृत्वमा छुट्टै महाधिवेशन कार्यतालिका सार्वजनिक गरिसकेको छ।




















