काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चन्द्र ढकालले रसुवा बाढीबाट क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय व्यावसायिक समुदाय, विकास साझेदार तथा बहुपक्षीय दातृ निकायसँग सहयोगको आह्वान गरेका छन्।
सोमबार रसुवा र नुवाकोटका बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनपछि ढकालले विपद्बाट भएको क्षति ठूलो रहेकाले नेपालले मात्रै पुनर्निर्माण गर्न कठिन हुने बताएका हुन्।
भोटेकोशी नदीमा आएको बाढीले रसुवा, नुवाकोट र त्रिशूली क्षेत्रमा पुर्याएको क्षतिप्रति दुःख व्यक्त गर्दै उनले बाढीका कारण अमूल्य मानवीय जीवन गुम्नुका साथै नवीकरणीय ऊर्जा परियोजना, राजमार्ग, स्थानीय घर तथा व्यवसायमा ठूलो क्षति पुगेको बताए।

राहत, उद्धार तथा पुनर्स्थापनामा खटिएका सुरक्षा निकायप्रति उनले आभार व्यक्त गरे। निजी क्षेत्रले विपद्को समयमा आफ्नो क्षमताअनुसार प्रभावित क्षेत्रमा सहयोग गरिरहेको भए पनि जलवायु परिवर्तनका कारण सिर्जित यस्ता विपद्को सामना गर्न अन्तर्राष्ट्रिय समुदायको साथ आवश्यक रहेको उनले बताए।

नेपालले विश्वमा अत्यन्त न्यून कार्बन उत्सर्जन गरे पनि जलवायु परिवर्तनजन्य विपद्को ठूलो क्षति भोगिरहेको उल्लेख गर्दै ढकालले अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता झन् बढेको बताए।
उनले बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा प्रभावित क्षेत्रको पुनर्स्थापनाका लागि अन्तर्राष्ट्रिय व्यावसायिक समुदाय, विकास साझेदार र बहुपक्षीय दातृ संस्थालाई सहयोगका लागि अघि आउन आग्रह गरे।




















