काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएका छन्।
भोटेकोशी बाढीको १३औँ दिन शोक वक्तव्य जारी गर्दै ओलीले अकल्पनीय प्राकृतिक विपत्तिले सिंगो देशलाई स्तब्ध बनाएको बताएका छन्। उनले बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन्।
अझै बेपत्ता रहेका नागरिकको सकुशल उद्धार हुने आशा व्यक्त गर्दै ओलीले प्रभावित क्षेत्रमा राहत तथा पुनःस्थापनाका कामलाई थप प्रभावकारी बनाउन सरकारसँग आग्रह गरेका हुन्।
उनले बाढीपछि अहोरात्र खटिएर बेपत्ताको खोजी, उद्धार र राहतमा योगदान पुर्याउने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, एमाले स्वयंसेवक, सामाजिक संघसंस्था, प्रदेश तथा स्थानीय सरकार र अन्तर्राष्ट्रिय समुदायको प्रशंसा गरेका छन्।
‘अहोरात्र खटिएर बेपत्ताको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा अतुलनीय योगदान पुर्याउनुहुने सबैप्रति हृदयदेखि नै धन्यवाद ज्ञापन गर्दछु,’ ओलीको वक्तव्यमा भनिएको छ।




















