विराटनगर । कोशी प्रदेश सरकार सञ्चालन गरिरहेका नेकपा (एमाले) र नेकपाले न्यूनतम साझा कार्यक्रम तयार पारेका छन्। सरकार गठनका क्रममा भएको सहमतिअनुसार दुवै दलले साझा कार्यक्रम तयार पारेका हुन्।
न्यूनतम साझा कार्यक्रम निर्माणका लागि गठित कार्यदलले आपसी समझदारी कायम गर्दै नयाँ नीति, प्राथमिकता र प्रतिबद्धता समेटिएको प्रतिवेदन मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई बुझाएको छ।
कार्यदलमा नेकपा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो, मन्त्री तिलचन पाठक तथा सांसदहरू बाबुराम गौतम, गणेश उप्रेती, रेवतीरमण भण्डारी र एमाले प्रदेश कमिटी सचिव राजकुमार भण्डारी रहेका थिए।
कार्यदलका सदस्य एवं एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बोका अनुसार कोशी प्रदेशको समृद्धिलाई आधार बनाएर साझा कार्यक्रम तयार गरिएको हो। आर्थिक समृद्धि, प्रशासनिक सुधार, स्वास्थ्य, शिक्षा, पूर्वाधार विकास र उत्पादन वृद्धिलाई कार्यक्रममा मुख्य प्राथमिकता दिइएको उनले बताए।
साझा कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई प्रदेशका सबै मन्त्रालय तथा निकायको कार्यसम्पादन अनुगमन गर्ने प्रविधिमैत्री केन्द्रका रूपमा विकास गर्ने उल्लेख छ। अन्तर-मन्त्रालय समन्वयलाई कानुनी संरचनामार्फत थप प्रभावकारी बनाउने योजना पनि कार्यक्रममा समेटिएको छ।
यस्तै, २०८० सालभन्दा अघि बनेका ऐन तथा नियमहरूको समीक्षा गरी चालु आर्थिक वर्षभित्र आवश्यक परिमार्जन र एकीकरण गर्ने लक्ष्य राखिएको छ। विद्यमान कार्यविधि तथा गठन आदेशहरूलाई विधेयकका रूपमा प्रदेश सभामा पेस गरी ऐनमार्फत व्यवस्थित गरिने कार्यदलका सदस्य रेवतीरमण भण्डारीले जानकारी दिए।
स्वास्थ्य तथा सामाजिक क्षेत्रको सुधारलाई पनि न्यूनतम साझा कार्यक्रममा प्राथमिकता दिइएको छ। प्रदेशका प्रत्येक जिल्लामा रहेका प्रादेशिक अस्पताललाई न्यूनतम ५० शय्यामा स्तरोन्नति गर्न पहिलो त्रैमासिकभित्रै संगठन तथा व्यवस्थापन (ओएण्डएम) सर्वेक्षण सम्पन्न गर्ने उल्लेख छ।
धनकुटा प्रादेशिक अस्पताललाई शिक्षण अस्पताल तथा मेची प्रादेशिक अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा विकास गर्ने प्रक्रिया तत्काल अघि बढाउने लक्ष्यसमेत कार्यक्रममा राखिएको छ।
अस्पतालको सेवा थप प्रभावकारी बनाउन आइतबार सार्वजनिक बिदाका दिनसमेत कर्मचारीलाई थप सुविधा उपलब्ध गराई स्वास्थ्य सेवा पूर्ण रूपमा सञ्चालन गर्ने व्यवस्था मिलाइने भएको छ।
यसका अतिरिक्त कोशी प्रदेशमा एक विशिष्टीकृत जलन उपचार युनिट स्थापना गर्ने योजनालाई समेत न्यूनतम साझा कार्यक्रममा प्राथमिकताका साथ समेटिएको छ।




















