काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको महामन्त्री शरदराज पाठकले पार्टी परित्याग गरेको घोषणा गरेका छन्। आज एक विज्ञप्ति जारी गर्दै पाठकले महामन्त्रीलगायत सबै जिम्मेवारीबाट आजकै मितिबाट अलग भएको घोषणा गरेका हुन् ।
‘राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महामन्त्री लगायत सबै जिम्मेवारी परित्याग गर्दै पार्टी सदस्यसमेत नरहने गरी आजकै मितिबाट अलग हुने निर्णय गरेको छु।’ उनले भनेका छन्, ‘राप्रपालाई समयानुकूल पुनर्संरचना गरी सुशासनप्रति इमानदारीपूर्वक प्रतिबद्ध तथा सबै उमेर, वर्ग, समुदाय र भूगोलका जनताले भरोसा गर्न सक्ने दलका रूपमा रूपान्तरण गर्ने सहमतिसँगै करिब चार वर्षअघि महामन्त्रीको जिम्मेवारीसहित एउटा समूहसँगै यस दलमा आबद्ध भएको थिएँ। उक्त सहमति नै राप्रपासँगको एकताको आधार थियो। तर यो अवधिमा त्यस दिशामा ठोस परिणाममुखी काम नै हुन सकेन।’
उनले पार्टीको विचारधारा र व्यवहारबीच चरम विरोधाभास कायमै रहेको बताए। भ्रष्टाचार गरेर खानु आमाको रगत खाएसरह हो भन्ने जस्तो कठोर नारालाई मूलमन्त्र मानेको बताउने पार्टीभित्र त्यसअनुरूपको व्यावहारिक प्रतिबद्धता र पारदर्शितामा ठूलो अभाव रहेको बताए।
पाठकले पार्टीको केन्द्रीय नेतृत्व तहमा स्थापनाकालदेखिकै दिक्कलाग्दो आन्तरिक बेमेल र गुटहरूको निजी स्वार्थपूर्ण तिक्त सङ्घर्ष झन् झाङ्गिँदो रहेको आरोप लगाए।




















