काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार सम्पन्न खेलमा साउदी अरेबियालाई ५ विकेटले पराजित गर्दै नेपालले एक खेल अगावै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।
साउदी अरेबियाले दिएको १९१ रनको लक्ष्य नेपालले ४१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो।
नेपालको जितमा गुल्शन झाले अविजित ४४ रन बनाए। ईशान पाण्डेले ४०, देव खनालले ३९ तथा रोहित पौडेलले अविजित २४ रन जोडे। आसिफ शेखले २० र अर्जुन कुमालले १५ रन बनाए।
साउदीका इश्तियाक अहमद र मुहम्मद आतिफले २–२ विकेट लिए भने मोहम्मद शेखले १ विकेट लिए।
यसअघि मलेसियाको क्लालाम्पुरस्थित बायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको साउदी अरेबिया ४९.२ ओभरमा १९० रनमा अलआउट भएको थियो। साउदीका लागि अब्दुल वाहिदले सर्वाधिक ७७ रन बनाए। उनले ८९ बलमा १० चौका र २ छक्का प्रहार गरे। मुहम्मद आतिफले ३० तथा मोहम्मद हिशाम शेखले २८ रन बनाए।
नेपालका कप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले ३–३ विकेट लिए। ललित राजवंशीले २ तथा गुल्शन झा र शेर मल्लले १–१ विकेट हात पारे।
नेपालले प्रतियोगितामा लगातार तेस्रो जित निकालेको हो। यसअघि नेपालले पहिलो खेलमा बहराइनलाई ७ विकेट र दोस्रो खेलमा आयोजक मलेसियालाई ६ विकेटले पराजित गरेको थियो।
नेपालले समूह चरणको अन्तिम खेल मंगलबार हङकङसँग खेल्नेछ। सेमिफाइनलमा स्थान पक्का गरिसकेको नेपालले अब समूह विजेता बन्ने लक्ष्यका साथ हङकङविरुद्ध मैदान उत्रिनेछ।




















