काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच आइतबार भेटवार्ता भएको छ। भेटमा कांग्रेसभित्र देखिएको आन्तरिक विवाद समाधान र पार्टीलाई एकताबद्ध बनाउने विषयमा छलफल भएको छ।
सभापति थापासँगको भेटमा नेता कोइरालाले देश, लोकतन्त्र र राष्ट्रियता अप्ठ्यारो अवस्थामा रहेकाले कांग्रेस एकढिक्का भएर अघि बढ्नुको विकल्प नरहेको बताएका छन्। पार्टी एकताका लागि आफूले आवश्यक त्याग गर्न तयार रहेको उनको भनाइ थियो।
जवाफमा सभापति थापाले आफू पनि पार्टी एकताको पक्षमा रहेको बताएका छन्। कांग्रेसलाई एकताबद्ध बनाउन आफू निरन्तर प्रयासरत रहेको उनले बताए।
भेटका क्रममा भदौ १० गते नेपाल–चीन सीमावर्ती रसुवा क्षेत्रमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट र धादिङमा परेको क्षतिका विषयमा समेत छलफल भएको थियो। बाढीपीडितको उद्धार, राहत तथा पुनःस्थापनाका विषयमा पनि उनीहरूले कुराकानी गरेका थिए।
यसअघि सभापति थापाले शनिबार कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग भेटवार्ता गरेका थिए। पार्टीभित्रको विवाद समाधानका विषयमा थापा र खड्काबीच भएको छलफल सकारात्मक रहेको कांग्रेस नेताहरूले बताएका छन्।




















