काठमाडौं । नेपाल प्रहरीका इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना वीरगञ्जस्थित क्यासिनोबाट पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साका एसपी पवनकुमार भट्टराईका अनुसार इलाका प्रहरी कार्यालय पोखरियामा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रदीप पौडेल र सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष ३६ वर्षीय जसवन्त यादवसहित ८ जनालाई क्यासिनोबाट पक्राउ गरिएको हो।
वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित गोल्डेन फिंगर गेमिङ जोन प्रालि नामक क्यासिनोमा प्रवेश गरी जुवा खेलेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा इन्स्पेक्टर पौडेल र सखुवाप्रसौनी गाउँपालिका–६ का ३६ वर्षीय जसवन्त यादवसहित सोही स्थानका ३० वर्षीय चन्दन सहनी र वीरगञ्ज महानगरपालिका–११ का ३९ वर्षीय ओमप्रकाश बैठा छन्।
त्यस्तै, नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गराएको आरोपमा क्यासिनोका चार कर्मचारीसमेत पक्राउ परेका छन्। पक्राउ पर्ने कर्मचारीमा वीरगञ्ज महानगरपालिका–१४ का २८ वर्षीय विजयकुमार पटेल, वीरगञ्ज–२५ का ३१ वर्षीय दिनेशकुमार पटेल, महोत्तरीको पिपरा गाउँपालिका–५ का ४९ वर्षीय जयदेव साह र वीरगञ्ज–१२ का ५० वर्षीय प्रदेशी साह रहेका छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।




















