काठमाडौं । सरकारले १४ जना सहसचिव र ९ जना उपसचिव गरी २३ जना अधिकारीहरूको सरुवा तथा पदस्थापन गरेको छ। शुक्रबार भएको मन्त्रीस्तरीय निर्णयअनुसार झापा, सुर्खेत, बारा, गोरखा, रौतहट, दोलखा र पर्वतसहितका विभिन्न जिल्लाहरूमा प्रमुख जिल्ला अधिकारी समेत फेरिएका छन् ।
नयाँ निर्णयअनुसार झापाको प्रमुख जिल्ला अधिकारीमा श्रवणकुमार पोखरेललाई पठाइएको छ भने त्यहाँ कार्यरत शिवराम गेलाललाई मन्त्रालयमा तानिएको छ। त्यसैगरी, महेन्द्रकुमार सापकोटालाई सुर्खेत, खडानन्द अधिकारीलाई बारा, धर्मेन्द्रकुमार मिश्रलाई गोरखा, रेखा कँडेललाई दोलखा, गंगाबहादुर क्षेत्रीलाई पर्वत र लक्ष्मीप्रसाद पौडेललाई रौतहटको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ।
सहसचिव ऋषिराम तिवारीलाई भने लागूऔषध नियन्त्रण विभागको महानिर्देशकमा सरुवा गरिएको छ भने रौतहटका पूर्वसिडिओ दिनेशसागर भुसाल, गोरखाका तुलसीबहादुर श्रेष्ठ र दोलखाका हरिप्रसाद घिमिरेलाई गृह मन्त्रालय तथा मातहतमा फिर्ता बोलाइएको छ।
उपसचिवहरूको सरुवाअनुसार भोजपुरमा कुलेश्वर अर्याल, जाजरकोटमा नवरराज बराल, खोटाङमा महेशकुमार गुरुङ, सल्यानमा बन्दना केसी र म्याग्दीमा गणेश गैरे प्रमुख जिल्ला अधिकारीका रूपमा खटाइएका छन्। यसैगरी, अमरबहादुर वलीलाई बाँकेको सहायक प्रमुख जिल्ला अधिकारी र बेदराज फुयाँललाई डडेल्धुराको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी तोकिएको छ।




















