काठमाडौँ । दार्चुलाको अपिहिमाल गाउँपालिका वडा नं १ भट्टारमा पहिरोले आंशिक थुनिएको चौलानी नदीको बहाब सामान्य भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
आज दिउँसो खसेको पहिरोले केही समय चौलानी नदी आंशिक थुनिएकामा केहीबेरपछि सामान्य अवस्थामा नै खुलेको थियो । दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिंह धामीले अहिले चौलानी नदी सामान्य अवस्थामा बग्न थालेको सूचना पाइएको जानकारी दिए ।
पहिरोले अपिहिमाल आधार शिविर जाने मार्ग भने अवरुद्ध गरेको उनले जानकारी दिए । “अहिले पहिरो झर्नेक्रम रोकिएको छ, थुनिएको नदी खुलिसकेको छ”, उनले भने । सो ठाउँमा विगतमा पनि पहिरो गएको उनले सुनाए । पहिरोबाट नजिकैको वस्ती जोखिममा परेको छ । यद्यपि, आजको पहिरोले बस्तीमा क्षति पुगेको छैन ।
सो क्षेत्रबाट माथि अपिहिमालको आधार शिविर पर्दछ । यसअघि पहिरो खसेर सो नदी केही थुनिएको सूचना प्राप्त हुनेबित्तिकै जिल्ला प्रशासन कार्यालयले तटीय क्षेत्रमा सतर्कता अपनाउन सूचित गरेको थियो ।



















