दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–२ स्थित भट्टार क्षेत्रमा पहिरो खस्दा चौलानी नदीको बहाव प्रभावित भएको छ । पहिरोका कारण नदी आंशिक रूपमा थुनिएको प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले जानकारी दिएका छन् ।
उनका अनुसार अहिले नदीमा पानीको बहाव भइरहेको भए पनि पुनः पहिरो खस्न सक्ने जोखिम रहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क गराइएको छ ।
‘पहिरोले चौलानी नदी थुनिएको हामीले जानकारी पाएका छौँ । अहिले पानी पास भइरहेको छ । फेरि पहिरो जान सक्ने सम्भावना रहेकाले सबैलाई सचेत गराइसकेका छौँ,’ प्रजिअ पौडेलले भने ।
चौलानी नदीको बहाव प्रभावित हुँदा अपिहिमाल, मार्मा र लेकम गाउँपालिका तथा शैल्यशिखर नगरपालिकाका तटीय क्षेत्रमा जोखिम हुनसक्ने भन्दै सम्बन्धित प्रहरी निकायलाई जानकारी गराइएको छ । डडेलधुरा र बैतडीका नदी तटीय क्षेत्रका बासिन्दालाई समेत सतर्क गराइएको पौडेलले बताए ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै माथिबाट आएको पहिरोले चौलानी नदीको केही भाग पुरिएको र पहिरो खस्ने क्रम अझै जारी रहेको जनाएको छ । यसका कारण नदी पूर्ण रूपमा थुनिन सक्ने सम्भावना रहेको प्रशासनले जनाएको छ ।
नदी थुनिएर एक्कासि फुट्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै प्रशासनले चौलानी नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन तथा सम्भावित जोखिमबाट बच्न सुरक्षित स्थानतर्फ जान आग्रह गरेको छ ।



















