काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले पार्टीको उपाध्यक्ष पदबाट राजीनामा दिएका छन् ।
बागमती प्रदेश सरकारका विषयमा पार्टीभित्र विवाद उत्पन्न भएपछि तामाङले नैतिक जिम्मेवारी लिँदै उपाध्यक्ष पदबाट राजीनामा दिएको बताइएको छ ।
राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिले बागमती प्रदेश सरकारमा सहभागी नहुने र कुनै पनि दललाई समर्थन नगर्ने निर्णय गरेको थियो । तर, पार्टीको निर्णयविपरीत राप्रपाका बागमती प्रदेशका सात सांसदले एमाले नेतृत्वको सरकारलाई विश्वासको मत दिएका थिए । त्यसमध्ये तीन जना सांसद मन्त्रीसमेत बनेका छन् ।
मुख्यमन्त्री उद्धव थापालाई विश्वासको मत दिने सात सांसदमध्ये बुद्धिमान तामाङका भाइ डम्बर तामाङ पनि छन् । उनी हाल राप्रपा बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक हुन् ।
यसअघि कुमारी तामाङ प्रमुख सचेतक थिइन् । उनले पार्टीको निर्णयअनुसार सरकारमा सहभागी हुन नहुने पक्षमा अडान लिएपछि संसदीय दलका नेता उद्धव थापाले उनलाई हटाएर डम्बर तामाङलाई प्रमुख सचेतक बनाएका थिए ।
बुद्धिमान तामाङ स्वयं भने बागमती प्रदेश सरकारमा राप्रपा सहभागी हुनुपर्ने पक्षमा रहेको राप्रपा स्रोतको दाबी छ । तर, पार्टीले सरकारमा नजाने निर्णय गरेपछि उनले उक्त निर्णय स्वीकार गरेका थिए ।
आफ्नै भाइले पार्टीको निर्णय उल्लंघन गरेर सरकारलाई समर्थन गरेपछि आफूलाई उपाध्यक्ष पदमा बसिरहन नैतिक संकट उत्पन्न भएको तामाङले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।
यसैबीच, राप्रपाले बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापासहित सरकारमा मन्त्री बनेका राजु विष्ट, राजेन्द्र प्रजापति र गिरबहादुर तामाङलाई कारबाही गरेको छ । उनीहरूलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरिएको छ ।
उनीहरूलाई प्रदेशसभा सदस्यबाट समेत पदमुक्त गर्न राप्रपाले बागमती प्रदेशसभा सचिवालयलाई पत्राचार गरेको छ । तर, बागमती प्रदेशका सभामुखले उनीहरूलाई हालसम्म पदमुक्त गरेका छैनन् ।
संसदीय दलका नेता उद्धव थापाले पार्टीको कारबाहीविरुद्ध अदालत जाने बताएका छन् । बागमती प्रदेश सरकारको वैधानिकतासम्बन्धी मुद्दा पनि अदालतमा विचाराधीन रहेको छ ।
राप्रपाका पुराना नेतामध्येका तामाङ २०७८ सालको महाधिवेशनमा कमल थापा नेतृत्वको प्यानलबाट उपाध्यक्षमा प्रत्यक्ष निर्वाचित भएका थिए । पञ्चायतकालदेखि राजनीतिमा सक्रिय उनी हालसम्म सातपटक मन्त्री बनिसकेका छन् ।
हाल राप्रपाको आन्तरिक राजनीतिमा उनी अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको संस्थापन पक्षमा छन् । तर, बागमती प्रदेश सरकारमा राप्रपाको सहभागिताका विषयमा भने तामाङ र लिङ्देनबीच मतभेद देखिएको थियो ।



















