काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राहत सामग्रीसहित पार्टीको टोली नुवाकोटका बाढी प्रभावित क्षेत्रतर्फ गएको छ ।
नुवाकोट र रसुवाका बाढी प्रभावितका लागि एमालेले केन्द्रीय कार्यालयबाट राहत सामग्री पठाएपछि अध्यक्ष ओलीसहितको टोली नुवाकोटतर्फ लागेको पार्टीका सचिव महेश बस्नेतले जानकारी दिए ।
उनका अनुसार अध्यक्ष ओलीले बाढी प्रभावितसँग प्रत्यक्ष भेट गरी उनीहरूको समस्या, दुःख र गुनासो बुझ्नेछन् । साथै, उद्धार, राहत तथा सरसफाइका लागि पार्टीले परिचालन गरेका स्वयंसेवकले गरिरहेको कामको पनि उनले अवलोकन गर्नेछन् ।
‘अध्यक्षसहित हामी गएर पीडितहरूसँगको समस्या, दुःख गुनासो बुझ्ने र हामीले राहत, उद्धार, सरसफाइका लागि स्वयंसेवक परिचालन गरेका छौँ। त्यो कामको अध्यक्षले निरीक्षण गर्नुहुन्छ,’ बस्नेतले भने ।
बस्नेतका अनुसार नुवाकोटमा एमालेको तर्फबाट करिब ३ सय स्वयंसेवक परिचालित छन् । पार्टीको ‘नेसनल भोलिन्टियर फोर्स’मार्फत बाढी प्रभावितलाई खाना खुवाउने, राहत सामग्री वितरण गर्ने तथा सरसफाइमा सहयोग गर्ने काम भइरहेको उनले बताए ।
‘हाम्रो नेसनल भोलिन्टियर फोर्सले पीडितहरूलाई खाना खुवाउने, राहत सामग्री वितरणदेखि लिएर सरसफाइसम्मको काममा सहयोग गरेको छ। त्यो समेत हामी अवलोकन गर्छौँ,’ उनले भने ।
अध्यक्ष ओलीको नेतृत्वमा गएको टोली आजै बेलुकी काठमाडौँ फर्किने बस्नेतले जानकारी दिए ।
यसैबीच, एमालेले रसुवा, नुवाकोट र धादिङमा बाढी प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि जिल्ला तहमा सहयोग समिति गठन गरेको जनाएको छ ।





















