काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउन भारतले नेपालका लागि पाँचौँ खेपको सहायता सामग्री पठाएको छ।
भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले बुधबार बिहान सामाजिक सञ्जालमार्फत पाँचौँ खेपको सहायता सामग्रीसहितको विमान नेपालतर्फ पठाइएको जानकारी दिएका हुन्।
उनका अनुसार विमानमा खोज तथा उद्धार कार्यका लागि आवश्यक विशेष उपकरणसहित ११ सदस्यीय उद्धार टोली र ५.५ टन अत्यावश्यक औषधि पठाइएको छ। उक्त टोलीले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यमा सहयोग गर्नेछ।
यसअघि भारतले १४ भदौमा ११ टन राहत सामग्री र प्राविधिक टोलीसहितको चौथो खेप नेपाल पठाएको थियो। बाढीपछि भारतले निरन्तर रूपमा उद्धार तथा राहतका लागि आवश्यक सामग्री र जनशक्ति उपलब्ध गराउँदै आएको छ।
भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा अहिले पनि उद्धार, राहत तथा उपचारको काम तीव्र रूपमा भइरहेको छ। प्रभावित नागरिकलाई सुरक्षित स्थानमा सार्ने, राहत सामग्री वितरण गर्ने तथा पूर्वाधार पुनःस्थापनाका लागि सरकारी निकायसँगै विभिन्न देश र अन्तर्राष्ट्रिय संघसंस्थाले सहयोग गरिरहेका छन्।




















